गढवाका जनप्रतिनिधीहरु कानून बनाउन सिक्दै



गढवाका जनप्रतिनिधीहरु कानून बनाउन सिक्दै

शिबराज पन्थी, गढवा १८ माघ ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
कानून तथा संबैधानिक महाशाखाले शनिवार गढवा गाउँपालिकाका सबै जनप्रतिनिधीहरुलाई एकै थलोमा जम्मा गरि सभा संचालन तथा कानून निर्माणका बिषयमा अभिमुखिकरण गरेको छ । गाउँ÷नगर तहका जनप्रतिनिधीहरुलाई सभा संचालन गर्ने कानूनी प्रकृया र कानून बनाउने बिषयमा जानकार बनाउन प्रदेश सरकारले यो अभियान संचालन गरेको लुम्बिनी प्रदेशका कानून सचिव राजेन्द्र थापाले जानकारी दिए ।

प्रदेश सरकारले ३ बर्षमा १०९ स्थानीय तह मध्ये ३२ वटा स्थानीय तहमा यो कार्यक्रम संचालन गरिसकेको र यो बर्ष १३ औ नम्बरमा गढवा गाउँपालिकाले मौका पाएको कार्यक्रममा जानकारी गराए । जस मध्ये दाङ जिल्लाका घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले यस बर्ष अवसर पाएको उनले बताए । स्थानीय सरकारको संसद भनेको नै गाउँसभा संचालन र कानून निर्माणको प्रकृया हो, संसदीय अभ्यास बमोजिम स्थानीय सरकारहरुले पनि अभ्यासको सिकाई गरेर मर्यादित र शिष्ट ढंगले सभा संचालन गर्न सिक्नुपर्ने कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुलाई थापाले बताए ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आगामी हिउँदे अधिबेशनलाई यसै ढंगले अभ्यासको सिकाई गर्ने भन्दै स्थानीय तहमा कानून बनाएर कार्यान्वयन प्रकृयामा लैजानु सबै जनप्रतिनिधीहरुको दायित्व भएको बताए । कार्यक्रममा बोल्दै उपाध्यक्ष शान्ती चौधरीले प्रदेश सरकारले गाउँसभाबाट कानून बनाउन र कार्यान्वयन गर्न सिकाएर सकारात्मक सन्देश दिएको बताए ।

सो अवसरमा अधिवेशन आव्हान र अन्त्य, गणपुरक संख्या, सभामा छलफल गर्न पाइने र नपाइने बिषयहरु, बैठक प्रारम्भ र स्थगन, बैठकमा पालना गर्नुपर्ने आचार संहिताहरु, बोल्ने र उत्तर दिने शिष्टम, नियमापत्ति, मत बिभाजन, अध्यक्षको बिशेषाधिकार, बिशेष प्रस्तावको अवधारणा तथा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउने तरिका, लेखा बिधायन र सुशासन समितिको काम कर्तब्य अधिकारक्षेत्र आदिका बारेमा जनप्रतिनिधीहरुलाई अभिमुखिकरण गरिएको हो ।

त्यस्तै कानून निर्माण र कार्यान्वयन प्रकृया, स्थानीय तहले कानून निर्माण गर्दा बिचार गर्नुपर्ने कुराहरु, आवश्यकताको पहिचान, सुझाव संकलन, कार्यपालिकाबाट बिधेयक मस्यौदा स्वीकृतीको ब्यवस्था र संघ प्रदेशको कानून संग नबाझिने गरि स्थानीय सरकारले संबिधानको अनुसुची ८ र ९ का आधारमा कानून निर्माणको ब्यवस्थाका बारेमा पनि कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रमको सहजीकरणमा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय कानून तथा संबैधानीक महाशाखाका कानून सचिव राजेन्द्र थापा,अधिकृत सुस्मिता पाण्डेय र नासु नारायण भट्टराइको उपस्थिति रहेको गढवा गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे