प्रधानमन्त्री पुल उद्घाटन गर्न आउने भएपछि देउखुरीमा तयारी व्यापक



प्रधानमन्त्री पुल उद्घाटन गर्न आउने भएपछि देउखुरीमा तयारी व्यापक

भालुवाङ ७ माघ । दाङ देउखुरीस्थित राप्ती नदीमा एक बर्ष पहिले निर्मित पुल उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली माघ १२ गते दाङ आउने भएपछि तयारी थालिएको छ । एक हप्ता अगाडिदेखि नै प्रधानमन्त्री आउने ठाउँमा जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरु दिनहुँ जस्तो तयारीको लागि त्यहाँ पुग्ने गरेका छन् ।

कार्यक्रम स्थलको तय, मञ्च निर्माण र सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त राख्नको लागि तयारी तीब्र पारिएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । उक्त दिन प्रधानमन्त्री हेलिकोप्टरबाट देउखुरी आउने र त्यहाँ आएर पुल उद्घाटन गरिसकेपछि मनतब्यको कार्यक्रम लालमटिया नजिकैको खाली चौरमा गर्ने गरि व्यवस्थापन गर्न लागिएको एसपी चन्दले बताए ।

‘पुल उद्घाटन गर्ने ठाउँमा सम्वोधनको कार्यक्रम हुँदैन । हामीले त्यही अनुसार तयारी थालेका छौं,’ एसपी चन्दले भने ‘प्रधानमन्त्रीले पुल उद्घाटन गरिसकेपछि लालमटियास्थित डाँडोमा आएर सम्वोधन गर्ने गरि व्यवस्थापन गर्दै छौं ।’ प्रधानमन्त्री आउने भएपछि राप्ती गाउँपालिकाको कार्यालयमा माघ ५ गते नै छलफल भइसकेको छ । कार्यक्रममा हजारौं कार्यकर्ता सहभागि बनाउने योजना रहेको नेकपा ओली समुहका नेताहरुले बताएका छन् ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुल गत बर्ष नै निर्माण पुरा भएको थियो । पुलको लम्बाई ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्बको लागतमा पुल निार्मण भएको हो ।

राप्ती र गढवा गाउँपालिकालाई जोड्ने यो पुल तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । जतिबेला प्रचण्ड पूल निर्माण गर्न आउँदा तत्कालिन नेकपा एमालेले जिल्ला बन्द आह्वान गरेको थियो । शिलन्यास भएको मितिले चार वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता भएपनि निर्माण कम्पनीले तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा गरेको थियो ।

पुल निर्माणको जिम्मा यसअघि नेपालकै सबैभन्दा लामो गेरुवाको पुल निर्माण गरेको कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले राप्ती नदीको यो पुल निर्माण गरेको हो । बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा निर्मित ‘गेरुवा पुल’का नामले चर्चित पुलको लम्बाई १ हजार १५ मिटर लामो छ ।

निर्धारित समय भन्दा पहिलै पुल निर्माणको काम पुरा गरेपछि निर्माण कम्पनीको निकै प्रशंशा भएको थियो । पुल निर्माण हुनुभन्दा पहिला कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो । यो पुल निर्माण भएपछि १५ मिनेटमै राप्ती गाउँपालिकाबाट सोझै गढवा गाउँपालिका जान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे