राप्ती ६ का वडा अध्यक्ष चौधरीले जन्म दिनमा गरे विद्यालयमा नगद दान



राप्ती ६ का वडा अध्यक्ष चौधरीले जन्म दिनमा गरे विद्यालयमा नगद दान

भालुवाङ १० असोज । पछिल्लो समय जन्मदिन मनाउनु नेपालमा संस्कार जस्तै भएको छ ।

जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो कुरा हो, तर हिजोआज नेपाली समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाएको पाइन्छ । यसको प्रभाव शहर देखि गाउँ सम्म नै देखिन्छ । जन्मदिनको महत्वलाई अनुत्पादक बनाउँदै लैजाने संस्कारलाई रुपान्तरण गर्न र यो अवसरलाई मानव जीवन पद्धतिको दिगो तथा न्यायोचित सहयोगी बनाउन दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चौधरीले आफ्नो जन्मदिनमा उदाहरणीय काम गरेका छन् ।वडा अध्यक्ष चौधरीले आफ्नो ४३ औं जन्म दिनका अवसरमा आफ्नै वडाको आफ्नै विद्यालय ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवामा गरिव, विपन्न विद्यार्थीलाई सहयोग होस् भन्ने उद्देशले विद्यालयमा दान पेटिका स्थापना गरि नगद ३ हजार १ सय ५ रूपैयाँ दान गरेका छन् । जन्म दिनमा फाल्तु खर्च गर्नु भन्दा दिनदुखी तथा गरिव विपन्नलाई सहयोग गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ आफुले जन्म दिन फरक तरिकाले मनाएको अध्यक्ष चौधरीले बताए ।यसै बीच सो विद्यालयले बिहीबार देखि नै लागू हुने गरि विद्यालयमा शिक्षक, कर्मचारी वा विद्यार्थी जसको जन्म दिन परेपनि विद्यालयमा स्थापना गरिएको दान पेटिकामा आफुले सक्दो दान गर्ने नियम बनाएको विद्यालयका सहायक प्रधानाध्यापक तथा विपन्न विद्यार्थी सहयोग उपसमिति संयोजक मंगलप्रसाद चौधरीले बताएका छन् । दान पेटिका स्थापना सँगै विद्यालयका सहायक प्रधानाध्यापक चौधरीले समेत ५ सय ५५ रूपैयाँ दान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे