प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ



प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ

दाङ ३१ भदौ । नव नियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल र सदस्यहरु डा.सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवि ढकालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सोमवार शपथ लिएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा. डिल्लीराज अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए भने उपाध्यक्ष अर्यालले सदस्य डा.सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवि ढकाललाई शपथ ग्रहण गराए ।

प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष यता सदस्यहरुले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसुची २ बमोजिम ढाँचामा उपाध्यक्षले अध्यक्ष समक्ष र सदस्यहरुले उपाध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था छ । सोमवार विहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसै बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको सुखद भविस्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरुलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिएका छन् ।

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेशको आकांक्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिए । ‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ ।

अव हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौं’उनले भने,‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरुको भूमिका प्रदेशले चाहेको छ ।’ प्रदेशको भाग्य भबिस्य रच्ने जिम्मेवारी योजना आयोगको रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे