रकम तिरेर लुम्बिनीका सांसद केसी एक दिनमै रिहा



रकम तिरेर लुम्बिनीका सांसद केसी एक दिनमै रिहा
दाङ २४ भदौ । कीर्ते मुद्दामा दोषी ठहर भई एक वर्ष कैद सजाय तोकिएका लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसद धनबहादुर केसी (डिबी) कैद सजाय रकममा परिणत गरी एक दिनमै छुटेका छन्।
रुकुम पूर्वी जिल्ला अदालतका न्यायाधीश लोकबहादुर हमालको इजलासले सांसद केसीलाई एक लाख ९ हजार दुई सय रुपैयाँ बुझाएर सजाय भुक्तान गर्न मिल्ने सुविधा सहितको आदेश दिएका थिए। अदालतले तोकेको रकम बुझाएपछि सांसद केसी एक दिनमै छुटेको अदालतका श्रेस्तेदार ईश्वरी सुवेदीले बताए। सांसद केसी आइतबार अदालतमा उपस्थित भएका थिए। अदालतले तोकिएको सजाय भुक्तानी गर्न कारागार चलान गर्न आदेश दिए पनि उनी कारागार भने चलान भएनन्। गए राति उनी रुकुम पश्चिम कारागारका जेलेरको कार्यालय रहेको कोठामा बसेका थिए।
सोमबार दिउँसो १ बजेपछि मात्रै उनी अदालत गएका थिए। अदालतले एक दिन कारागारमा बिताएको भन्दै तीन सय ६३ दिनको दैनिक ३०० का दरले रकम बुझाएर सांसद केसीलाई छाडेको हो। फौजदारी संहिताको दफा १५५ मा एक वर्ष जति सजाय भएका व्यक्तिलाई रकम तिरेर छुट पाउने सुविधा दिएको छ। कैद सजाय रकममा परिणत गरेर सांसद केसीलाई नछोड्न माग गर्दै जिल्ला अदालत परिसरनजिकै नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका रुकुम पूर्वका अध्यक्ष चन्द्र रसाइली नेतृत्वमा प्ला कार्डसहति नाराबाजी गरेका थिए। अदालतले तोकेको रकम बुझाएर मुक्त भएसँगै सांसद केसी हेलिकोप्टर चार्टर गरी काठमाडौं उडेका छन्।
केसी विरूद्ध २०४८ साल असार ९ गते कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
श्रीमतीसँगको अंश मुद्दामा तत्कालीन समय केसीले र्कीर्ते गरेको अभियोग प्रमाणित भएपछि अदालतले दोषी फैसला गरेको थियो।
त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए। २०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वलाई सजाय भुक्तान गर्न बाँकी व्यक्तिहरूको विवरण पठाएपछि केसीको कुरा सार्वजनिक भएको थियो। त्यस्तो लगत हरेक वर्ष साउनमा अदालतले आवश्यक कारबाहीका लागि प्रहरीलाई पठाउने गर्छ। २०७५ सालयता हरेक वर्ष साउन महिनामा जिल्ला प्रहरी कार्यालयको नाममा अदालतबाट केसीबारे लगत पठाउँदै आइएको थियो। राजनीतिमा आउनुभन्दा पहिले सांसद केसी म्यानपावर व्यवसायी थिए। उनी गएको चुनावमा रुकुम पूर्व जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे