पूर्व मुख्यमन्त्री केसीले सरकारी गाडी फिर्ता गरे



पूर्व मुख्यमन्त्री केसीले सरकारी गाडी फिर्ता गरे

भालुवाङ २३ भदाै । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व बिशिष्ट व्यक्तिहरुले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको बरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिए ।

भदौ २० गते बिहिवार मुख्यमन्त्री कार्यालयमा चालक मार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेका थिए । भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाए अनुसार पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए । वि.सं. २०७९ भदौ ३१ गते बसेकाे प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिदै आएका थिए । पूर्व बिशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए । आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागी पूर्व बिशिष्ट व्यक्तिहरुलाई दिदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हाे । पहिलो प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा अन्तरगत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । पूर्व सभामुख घर्तिले प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बारेमा जानकारी गराउनु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे