बाँके बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, मृतक सबै दाङका रहेको पुष्टि



बाँके बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, मृतक सबै दाङका रहेको पुष्टि

दाङ १३ भदौ । बाँकेको कोहलपुर-नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बस दुर्घटनामा परी गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उपचारका क्रममा घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताएका छन् ।

यसअघि सोही दुर्घटनामा परेर तुलसीपुर- ७ बसन्तपुर टोलका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुर-९ बेलुवाका २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो । दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस कोहलपुर नेपालगन्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार दुर्घटनामा परेका घाइते २६ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । भेरी अस्पतालमा २१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे