नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पुन टंक प्रसाद पोख्रेल निर्विरोध निर्वाचित



नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पुन टंक प्रसाद पोख्रेल निर्विरोध निर्वाचित

दाङ ९ भदौ । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पुन टंक प्रसाद पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न चेम्बरको दोश्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि पोख्रेल निर्विरोध निर्वाचित भएका हुन् । पोख्रेलकै अध्यक्षतामा ५ सदस्य पछि थप गर्ने गरी २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्षमा  श्रीधर महरा, (जिल्ला नगर) उपाध्यक्षमा झविन्द्र प्रसाद कंडेल (जेपी), (बस्तुगत) उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, (एशोसिएट) उपाध्यक्षमा लोकहरि श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा शिव ज्ञवाली, कोषाध्यक्षमा खिमबहादुर खत्री, सचिवमा अजय न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा निर्मल कुमार पौडेल, युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली मन्जु, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मन्जु भुसाल, यज्ञश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ्ग र शंकर गौतम निर्विरोध निर्वाचित भएका छन् । आगामी ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत विनोद गौतमले प्रमाणपत्र वितरण गरेका थिए ।

चेम्बरका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोख्रेलको अध्यक्षतमा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा राजनीतिक स्थायित्वका निम्ति प्रमुख २ ठूला राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सुचकांक उकालो लागिरहेको बताए । अब व्यवसायीका निम्ति आशाका दिन आएको मुख्यमन्त्री आचार्यको भनाइ थियो । उनले नेपालमा व्यावसायिक कृषिबाट नै कार्यापलट गर्न सकिने सम्भावना रहेको दाबी गरे । सरकारले कृषि अनुदानमा समेत लगानी गरिरहेकाले युवाहरू कृषि पेसामा आकर्षित भएको बताउनुभयो । नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री आचार्यको कथन रहेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले वर्तमान सरकारले नै सबै समस्याको समाधान गर्नै पर्ने बाध्यता रहेको बताए । यो सरकारलाई समस्या समाधान गर्नवाट छुट नभएको भन्दै उनले केही सकारात्मक संकेत समेत देखापरेको पनि बताए । बुद्धको देश नेपालले बुद्धका ज्ञानलाई विश्वभरी प्रचार प्रसार गरी पर्यटक भित्राउन जरुरी रहेको समेत मन्त्री कार्कीले जोड दिए ।
कार्यक्रममा समसामयिक समस्याका बारेमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले वितेको ३ वर्षमा ३५ लाख नेपाली विदेशीयकोले नेपालमा सोको परिपूर्तीका लागि पर्यटक भित्रयाउने पोलिसी जरुरी रहेको बताए । लुम्बिनी प्रदेशको आर्थिक अवस्था सुधार्न कृषि, उद्योग र पर्यटनमा यो प्रदेशमा थुप्रै सम्भावना रहेकाले प्रदेश सरकार यस दिशातर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल महासचिव जेपी कंडेल लगायतले व्यसायीले भोग्नु परेको समस्याका बारेमा प्रकाश पारेका थिए । चेम्बरका उपाध्यक्ष श्रीधर महराको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव झविन्द्र प्रसाद कंडेल (जेपी)ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे