राप्ती गाउँपालिकाद्धारा बजार अनुगमन : अधिकांश होटलमा गुणस्तरहिन खानेतेल फेला



राप्ती गाउँपालिकाद्धारा बजार अनुगमन : अधिकांश होटलमा गुणस्तरहिन खानेतेल फेला

भालुवाङ २४ साउन । दाङको राप्ती गाउँपालिकाले  भालुवाङ र पाखापानी बजारको अनुगमन गरेको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको सहकार्यमा ती बजारको अनुगमन गरेको हो । २ दिनको अनुगमनको क्रममा भालुवाङ पुल्चोक बजार र पाखापानी बजार क्षेत्रका कुल ४६ वटा पसलको अनुगमन गरेको छ । जसमा ३६ वटा होटल, ३ वटा मासु पसल, १ वटा बथ स्थल, ४ वटा किराना पसल,  १ वटा डेरी र १ वटा कोल्डड्रिङ गरि ४६ वटा पसलहरुको अनुगमन गरेको छ । पछिल्लो समय देशैभर हैजा, झाडापखाला, डेंगी लगायतका रोगको संक्रमण फैलिरहेको र होटल, मासु पसल, बथ स्थल, डेरी, गल्ला तथा किरानाहरुमा हुने अखाद्य वस्तुहरुको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुका साथै सेवाग्राहीहरु ठगिने समस्यालाई मध्यनजर गरी बजार अनुगमन थालिएको बजार अनुगमन समितिका सदस्य तथा आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिएका छन् ।अनुगमनको क्रममा अधिकांश होटलहरुमा खानेतेलको गुणस्तरमा ह्रास देखिएको छ भने अखाद्य वस्तु फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक सुर्दशन गोसाईले जानकारी दिएका छन् । त्यसै गरि फुट कलर हालेको, म्याद नाघेका सामानहरू फेला परेको र सरसफाईमा कमी देखिएको खाद्य निरिक्षक गोसाईले बताए । फेला परेका अखाद्य वस्तुहरुको तत्कालै नस्ट गरिएको छ भने त्यस्ता वस्तु भेटिएका पसलका सञ्चाकहरुलाई पहिलो पटकका लागि सचेत गराइएको खाद्य निरिक्षक गोसाईले जानकारी दिएका छन् । गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा गाउँपालिकाका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षकहरु, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी, स्वास्थ्यकर्मी र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे