राप्ती गाउँपालिकाद्धारा बजार अनुगमन सुरु : पहिलो दिनमै ७५ प्रतिशत अखाद्य वस्तु फेला



राप्ती गाउँपालिकाद्धारा बजार अनुगमन सुरु : पहिलो दिनमै ७५ प्रतिशत अखाद्य वस्तु फेला

भालुवाङ २३ साउन । दाङको राप्ती गाउँपालिकाले बुधबार देखि गाउँपालिका क्षेत्रका मुख्यमुख्य बजारको अनुगमन सुरु गरेको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको सहकार्यमा गाउँपालिकाले होटल, मासु पसल, बथ स्थल, डेरी, गल्ला तथा किरानाहरुमा हुने अखाद्य वस्तुहरुको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुका साथै सेवाग्राहीहरु ठगिने समस्यालाई मध्यनजर गरी बजार अनुगमन थालिएको राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक कमलापति चौधरीले जानकारी दिएकी छिन् ।अनुगमनको पहिलो दिन वडा नम्बर १ को भालुवाङ पुल्चोक बजार क्षेत्रका १४ वटा होटल, २ वटा मासु पसल, १ वटा बथ स्थल, २ वटा किराना पसल र १ वटा डेरी गरि २० वटा पसलहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा पहिलो दिनमै करिव ७५ प्रतिशत अखाद्य वस्तु फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक सुर्दशन गोसाईले जानकारी दिएका छन् । अधिकाशं होटलमा तेलको गुणस्तरमा ह्रास आएको (टिपिएम) मापदण्ड भन्दा बढी भएको, फुट कलर हालेको र म्याद नाघेका सामानहरू फेला परेका थिए । फेला परेका अखाद्य वस्तुहरुको तत्कालै नस्ट गरिएको छ भने त्यस्ता वस्तु भेटिएका पसलका सञ्चाकहरुलाई पहिलो पटकका लागि सचेत गराइएको खाद्य निरिक्षक गोसाईले जानकारी दिएका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा गाउँपालिकाका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षकहरु, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी, स्वास्थ्यकर्मी र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे