एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि



एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका पाँच जनाकै ज्यान गएको छ ।

आज दिउँसो १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट चार जना चिनियाँ यात्रु लिएर रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । हेलिकप्टर शिवपुरी–७ सूर्यचौर डाँडामा खसेर आगलागी भएपछि प्रहरी र स्थानीय बासिन्दा पुगेका थिए । प्रहरी पुग्दा पाँच जनाकै जनाको ज्यान गएको नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए ।

क्याप्टेन अरुण मल्लले उडानुभएको हेलिकोप्टरमा चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका थिए । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । तर दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा हेलिकप्टर दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले १५ दिनमै अर्काे हवाई दुर्घटना हुनु दुःखद भएको बताएकाे उनको सचिवालयले जनाएको छ ।

यसै बीच एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्काे आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाकाे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हाे । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा गठन गरिएकाे  छानबिन समितिकाे सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे । समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे