भालुवाङ ट्राफिकको सक्रियता : ओभर स्पीड सवारीसाधानमा कडा निगरानी



भालुवाङ ट्राफिकको सक्रियता : ओभर स्पीड सवारीसाधानमा कडा निगरानी

भालुवाङ २८ असार । दाङको देउखुरीमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेपछि भालुवाङ ट्राफिक प्रहरीले निगरानी बढाएको छ । पूर्व—पश्चिम राजमार्ग अन्र्तगत लमही—भालुवाङ सडक खण्डमा सवारीको चाप बढे संगै सडक दुर्घटना समेत बढ्न थालेपछि अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङले निगरानी बढाएको हो ।

दाङ—देउखुरी स्थित पूर्व-पश्चिम राजमार्गमा ओभरस्पीडमा गुड्ने सवारीसाधनमा भालुवाङ ट्राफिक प्रहरी कडा निगरानी भएको छ । तीब्र गतिमा गुड्ने सवारी साधनलाई ट्राफिक प्रहरीले धमाधम नियन्त्रणमा लिएर कार्वाही समेत गर्न थालेको छ । तीब्र गतिमा गुडेका सवारी साधन दुर्घटनामा पर्न थालेपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्गमा तीब्र गतिमा गुड्ने सवारी साधनमाथि भालुवाङ ट्राफिक प्रहरीले निगरानी बढाउन थालेको छ ।

स्पीड जाँच गर्ने लेजर गन मेसिन अर्थात् राडर गन मार्फत सवारी साधनको गति नाप्न थालिएको अस्थाई ट्राफिक पोष्ट भालुवाङका प्रमुख भुपेन्द्रप्रसाद गौलीले जानकारी दिए । राजमार्गमा तीब्र गतिमा गुड्ने सवारी साधनकै कारण दुर्घटना बढिरहेको बताउँदै भालुवाङ ट्राफिक प्रहरी प्रमुख गौलीले दुई पांग्रे र चार पांग्रे सवारी साधनको गति बढी हुने भएकाले ती सवारीसाधन माथि निगरानी बढाएको बताए ।

यसैबीच ओभर स्पीडमा गुड्ने गाडीलाई कार्वाही गर्ने अभियान अन्र्तगत आज दोस्रो दिन शुक्रबार पूर्व-पश्चिम राजमार्गको लमही—भालुवाङ सडक खण्ड अन्र्तगत मसुरियामा राडर गन मार्फत सवारी साधनको गति नाप्ने अभियानलाई निरन्तरता दिएको छ । अभियानको दोस्रो दिन भालुवाङ ट्राफिक प्रहरीले सरकारी देखि सार्वजनिक र निजी सवारी साधनको गति नापेर कार्वाही गरेको अस्थाई ट्राफिक पोष्ट भालुवाङका प्रमुख भुपेन्द्रप्रसाद गौलीले जानकारी दिए ।

उनका अनुसार २ वटा सरकारी स्कारपियो, ४ वटा निजी, ४ वटा सार्वजनिक बस, ३ वटा सार्वजनिक जीप र १४ वटा निजी मोटरसाइकल सहित २७ वटा सवारीसाधनले तीब्र गतिमा गाडी चलाएको भन्दै कार्वाही समेत गरिएको बताए । उनीहरुले राजमार्गमा ६० भन्दा बढीको स्पीडमा गाडी चलाएको भन्दै पहिलो चरणमा ट्राफिक नियम अनुसार प्रति सवारी एक हजारका दरले जरिवाना गरी सम्झाई बुझाइ गरेर छोडिएको उनले बताए ।

राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारी साधनलाई कारवाही गरिएको छ । सवारी साधन ६० किलोमिटर प्रतिघण्टा भन्दा बढीको दरले हुइकिने गरेका छन् । दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा अभियान केन्द्रित गरिएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे