एन प्याब्सनद्धारा एसईईमा सर्वोत्कृष्ट हुने लुम्बिनीका १८ जना विद्यार्थी सम्मानित (फाेटाेफिचर सहित)



एन प्याब्सनद्धारा एसईईमा सर्वोत्कृष्ट हुने लुम्बिनीका १८ जना विद्यार्थी सम्मानित (फाेटाेफिचर सहित)

देउखुरी २८ असार । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले २०८० को एसईईमा लुम्बिनी प्रदेश र जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका १८ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सनले आज शुक्रबार दाङ—देउखुरीको लमहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश टप र जिल्ला स्तरमा सर्वोत्कृष्ट अंक ल्याउने १८ जना विद्यार्थीहरूलाई सम्मान-पत्र, नगद पाँच हजार र खाँदा लगाएर सम्मान गरेको हो ।

जसमा नेशनल प्याब्सनको तर्फबाट प्रदेश उत्कृष्टमा अर्घाखाँचीका दिक्षान्त चुँदाली रहेका छन् । चुँदालीले ३.९६ जिपी अंक ल्याएर प्रदेश उत्कृष्ट भएका हुन् । यस्तै लुम्बिनी प्रदेशको पाल्पा, प्यूठान, रोल्पा र पूर्व रुकुम बाहेक ८ वटा जिल्लाबाट प्रदेश उत्कृष्ट सहित १८ जना सम्मानित भएका छन् ।

यस्तै जिल्लाबाट उत्कृष्ट भई सम्मानित हुनेहरुमा दाङबाट अश्लेशा धिताल, सुगम केसी, रुपन्देहीबाट सिदान्त चतुर्बेदी, मोनालिशा सुवेदी, कपिलबस्तुबाट बालकृष्ण कोहार, स्नेहा चौधरी, अर्घाखाँचीबाट नाइसा बेल्बासे र नबलपरासीबाट सामना न्यौपाने, प्रसिद्ध अधिकारी रहेका छन् ।

यस्तै गुल्मीबाट रबिन क्षेत्री, प्रतिभा भण्डारी, बाँकेबाट निलम खड्का, समीक्षा थापा, सुमित यादव, बाबुराम शर्मा र बर्दियाबाट जेनिशा सेधाई, सुजन पौडेल सम्मानित भएका छन्  । उनीहरुलाई नगद पाँच हजार, प्रमाण—पत्र सहित टिका र खाँदा लगाएर सम्मान गरिएको थियो ।

यसैबीच उत्कृष्ट अंक ल्याई सम्मानित भएका विद्यार्थीहरुहरु खुसी व्यक्त गरेका छन् । उनीहरुले यो सम्मानले उच्च शिक्षा अध्ययनमा थप हौसला, उर्जा र प्रेरणा प्रदान गरेको बताएका छन् । उनीहरुले नेशनल प्याप्सनले आफूहरुलाई सम्मान गरेर परिवार र समाजप्रति थप जिम्मेवार बनाएको समेत बताएका छन् ।


यता नेशनल प्याब्सनका राष्ट्रिय उपाध्यक्ष सुबोधकुमार डाँगीले एसईई उत्कृष्ट भएका विद्यार्थीहरुमा ठुलो जिम्मेवारी थपिएको बताए । उनले एसईईमा उत्कृष्ट अंक ल्याईसकेपछि अगाडीको पढाईमा पनि त्यही स्तर कायम गर्न चुनौती थपिएको बताए । उत्कृष्टस्तर कायम गर्न विद्यार्थी मात्र नभई अभिभावक र सम्बन्धित विद्यालय समेत थप जिम्मेवार बन्न आग्रह गरे ।

यस्तै नेशनल प्याब्सनका लुम्बिनी प्रदेश उपाध्यक्ष डिल्लीराम काफ्लेले एन प्याब्सनले बिगत देखि नै एसईईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गर्दै आइरहेको जानकारी गराउँदै उनले विद्यार्थीलाई गरिने सम्मानले उनीहरुलाई अगाडीको शिक्षामा थप हौसला तथा उर्जा प्रदान गर्ने उदेश्यले सम्मान गरिएको बताए । प्रदेश उपाध्यक्ष काफ्लेले यो सम्मानले विद्यार्थीको अगाडीको शिक्षालाई उत्कृष्ट बनाउन विद्यार्थी संगै अभिभावकलाई समेत जिम्मेवार बनाउने बताए ।

नेशनल प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष डिल्लीराम काफ्लेको अध्यक्षता एवम् केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीको प्रमुख आतिथ्यतामा भएको विद्यार्थी सम्मान कार्यक्रममा प्याब्सनका प्रदेश सदस्य सरोज गुरुङ्गको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव तथा फेमिली प्याराडाइज इङलिस बोडिङ स्कुलका प्रबन्ध निर्देशक टोपेन्द्र खनालले गरेका थिए । कार्यक्रमको संयोजक नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका सह- कोषाध्यक्ष कमल पछाई रहेका थिए।

याे हेर्नुस् फाेटाे फिचरहरु :

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे