अपाङ्गताका सवालमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री महरा



अपाङ्गताका सवालमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री महरा

भालुवाङ २५ असार । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले लुम्बिनी प्रदेश सरकारलाई अपाङ्गता भएका नागरिकहरुको सवालमा गम्भीर बन्न आग्रह गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितीको एक टोली मुख्यमन्त्री कार्यालय राप्ती उपत्यका देउखुरीमा पुगेर अपाङ्गता भएका नागरिकहरुको सवालमा सरकार गम्भीर हुन आग्रह गरेका हुन् ।

अपाङ्ग महासंघ लुम्बिनीका प्रदेश व्यवस्थापक धिरेन्द्र बिकले लुम्बिनी प्रदेशभरि हजारौँको संख्यामा अपाङ्गता भएका नागरिकहरु भएको र प्रदेश सरकारका हरेक गतिबिधिको पहुँच भन्दा बाहिर रहेको बताए । उनले प्रदेशभरि रहेका अपाङ्गता भएका नागरिकहरुको अवस्था बुझ्न र प्रदेश सरकार संग अपाङ्गता भएका नागरिकलाई जोड्न मुख्यमन्त्री कार्यालयको मतहातमा रहने गरी अपाङ्गता व्यवस्थापन तथा सुचना शाखा व्यवस्था गर्न माग गरे । “सुचना केन्द्रले मात्र अपाङ्गता भएका नागरिकहरुको अवस्था पत्ता लगाउन सकिन्छ, प्रदेश भरिमा कुन अपाङ्गता भएको नागरिकको के अवस्था छ ? अनि बल्ल थाहा हुन्छ, त्यसैले हामीले सुचना केन्द्र माग गरेका हौँ ।” प्रदेश व्यवस्थापक बिकले भने ।

त्यस्तै व्यवस्थापक बिकले प्रदेशभरि रहेका अपाङ्गता भएका नागरिकहरुलाई प्रदेशसभामा हुने गतिबिधिको जानकारी गराउन तथा अपाङ्गता भएका नागरिकहरुलाई प्रदेशसभाको गतिबिधिको पहुँच सम्म पुर्‍याउन प्रदेशसभामा एक जना दोभासेको व्यवस्था गर्न समेत माग गरे । “हामी संग आँखा देख्ने तर कान नसुन्ने तथा कान सुन्ने तर आँखा नदेख्ने अपाङता भएका साथीहरुले प्रदेशसभा भित्र के भइरहेको छ ? थाहा पाउनु हुन्न त्यसैले हामीले प्रदेशसभामा अपाङ्गता भएका नागरिकहरुको पहुँच पुर्‍याउन दोभासेको व्यवस्था गर्न सरकार संग माग गरेका हौँ” व्यवस्थापक विकले भने । त्यस्तै उनले प्रदेश सरकारबाट अपाङ्गता भएका नागरिकहरुका लागि बिनियोजन भएका बजेट जिल्लाहरुमा कर्मचारीहरु खर्च नगर्दा बजेट फ्रिज हुने गरेको समेत गुनासो गरे ।

यता अपाङ्गता भएका नागरिकहरुको गुनासो सुनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफू पनि अपाङ्गता भएकोले पनि अपाङ्गता भएपछि कस्तो हुन्छ भन्ने महसुस गरिरहेको बताउँदै उनले अपाङ्गता भएका नागरिकहरुको सवालमा आफू र सरकार गम्भीर रहेको बताए । मुख्यमन्त्री महराले अपाङ्ग महासंघले उठाएका मागहरु एकदमै जायज रहेको बताए । उनले प्रदेश प्रमुख सल्लाह गरेर केही दिनमै प्रदेशसभामा दोभासेको व्यवस्था गर्ने बताए । “मैले तत्काल सभामुख संग सल्लाह गरेर प्रदेशसभा भित्र दोभासेको व्यवस्था गर्छु, तपाईहरु ढुक्क हुनुस्” मुख्यमन्त्री महराले भने ।

मुख्यमन्त्री महराले प्रदेशभरिका अपाङता भएका नागरिकहरुको अवस्था पत्ता लगाउन र प्रदेश सरकार संग अपाङता भएका नागरिकहरुलाई जोड्न आफ्नो मातहतमा रहने गरी मुख्यमन्त्री कार्यालयमा तत्काल सुचना केन्द्र स्थापना गर्ने प्रतिबद्धता समेत जनाए । “हाम्रो प्रदेशभरि कति अपाङ्गता भएका नागरिकहरु हुनुहुन्छ, सरकारलाई नै थाहा छैन । सबैभन्दा पहिले प्रदेशको १२ वटै जिल्लामा कहाँ कति अपाङ्गता हुनुहुन्छ । त्यो पत्ता लगाउनका लागि पनि सुचना केन्द्र आवश्यक रहेकोले म मुख्यमन्त्री कार्यालयमा नै सुचना केन्द्र तत्काल व्यवस्था छु,” मुख्यमन्त्री महराले भने ।

उनले अहिले प्रदेश सरकार पुरानो भवनमा भएकोले अपाङता भएका नागरिकहरुको सहज पहुँचमा नभएको स्वीकार गर्दै मुख्यमन्त्री महराले नयाँ बन्न लागेका भवनहरु अपाङ्गमैत्री बनाउने बताए । यदि नयाँ भवन अपाङ्गमैत्री छैन भने पनि अहिले नै त्यसको नक्सा चेन्ज गर्न लगाएर भएपनि अब नयाँ भवनहरु अपाङ्गमैत्री नै बनाउँछौँ, मुख्यमन्त्री महराले भने ।

उनले अपाङमैत्री नभए इन्जिनियरलाई निर्देशन दिएर भएपनि अहिले नै सबै नयाँ भवनहरु अपाङता मैत्री बनाउने प्रतिबद्धता समेत जनाउनुभयो । यो पुरानो भवन हो । यो अपाङ्गमैत्री छैन । त्यसैले मैले अपाङ्ग, अशक्त र जेष्ठ नागरिकहरुका लागि तलो तल्लामा नै कार्यकक्ष बनाएर भेटघाट गर्ने गरेको छु । मेरो कार्यकक्ष माथि छ । तपाईहरु जान सक्नु हुन भनेर मैले तल नै मुख्यमन्त्रीको कार्यालय जस्तो बनाएर तल्लो तलमा म आफै झरेर हजुरहरु संग भेटघाट गरेको छु, मुख्यमन्त्री महराले भने ।

मुख्यमन्त्री महराले सरकारले भरखरै ल्याएको निति तथा कार्यक्रममा समेत अपाङ्गता भएका नागरिकहरुलाई अरु मान्छे जस्तै बाँच्न पाउने गरी र रोजगार संग जोड्ने खालका कार्यक्रम ल्याएको बताए । उनले निति तथा कार्यक्रम संग अपाङ्गता भएका नागरिकहरुका लागि बजेटबाट समेत सम्बोधन गरिएको बताए । “सरकारले निति तथा कार्यक्रम र बजेट मार्फत पनि तपाईहरुको माग सम्बोधन गरेका छौँ,” मुख्यमन्त्री महराले भने । उनले अपाङ्गता भएका नागरिकहरुका लागि अरु कोही नभएपनि प्रदेश सरकार रहेको अनुभूति दिलाउने गरी काम गर्ने समेत बताए ।

सो अवसरमा अपाङ्ग महासंघ लुम्बिनीले मुख्यमन्त्री महरालाई टिका र माला लगाएर बधाई ज्ञापन गरेको थियो । त्यस्तै महासंघले बिभिन्न माग राख्दै मुख्यमन्त्री महरालाई ज्ञापन—पत्र समेत बुझाएको छ । उक्त कार्यक्रममा महासंघका लेखापाल महानन्दप्राद पोख्रेल, प्रदेश परियोजना अधिकृत शिब घर्तीमगर, प्रदेश वकाल अधिकृत सरोजा भण्डारी, अपाङ्ग सञ्जाल राप्तीका अध्यक्ष ऋषिराम बस्नेत, दोभासे चम्फा बुढा, स्थानीय पहुँच परिक्षण वकाल समितीका संयोजक सन्तराम चौधरी, समितीका सदस्यहरु रेजिना कुमाल, प्रमिला चौधरी, प्रमोद पौडेल, दुखराम सार्की र कृष्ण गिरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे