तेस्रो युएसएड यात्रा दाङको लमहीमा



तेस्रो युएसएड यात्रा दाङको लमहीमा

लमही २३ असार । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ ।

आइतवार लमहीको बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिक लगायत विभिन्न प्रस्तुति गरिएका थिए । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु भएको यात्रा बुटवल हुँदै लमही पुगेको हो ।

सोमवार बाँकेको कोहलपुर र मंगलवार नेपालगन्जमा यस्तै कार्यक्रम हुँदैछन् । युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

संयुक्त राज्य अमेरिका र नेपाल बीचको दौत्य सम्बन्ध झन्डै ८ दशक देखि रहँदै आएको छ । युएसएडले विगत ६३ वर्ष भन्दा लामो समय देखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ ।

अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ । युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रम मार्फत १० लाख भन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पु¥यायो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रम मार्फत अप्रत्यक्ष रूपमा लाभलिएका थिए ।

सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमा साढे एक अर्ब अमेरिकी डलर अर्थात १ खर्ब ९६ अर्ब नेपाली रुपैयाँ भन्दा बढीको सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे