राजपुरमा युवा सम्मेलन, एसईई परिणाम कमजोर देखिएकोमा युवाको चिन्ता



राजपुरमा युवा सम्मेलन, एसईई परिणाम कमजोर देखिएकोमा युवाको चिन्ता

देउखुरी १७ असार । नरेन्द्रप्रसाद यादवलाई युवाको नेतृत्व हरेक क्षेत्रमा हुनुपर्छ भन्ने लाग्छ । तर, जसरी उहाँले सोच्नुभएको छ, त्यसरी हरेक क्षेत्रमा युवालाई अवसर र नेतृत्व दुवै प्राप्त भने हुन सकिरहेको छैन । स्थानीय तहले युवाहरुको क्षमता बढाउन र उनीहरुको हरेक क्षेत्रमा समान सहभागिताको लागि बनाउनुपर्ने नीतिहरु पनि बनाएको उनले पाएका छैनन् ।

दाङ जिल्लाको राजपुर गाउँपालिकाले गाउँ युवा परिषद् कार्यविधि तयार पारेको छ । तर, यो कार्यविधि अनुसार युवाहरुलाई समान अवसर र सहभागिता सुनिश्चित गर्न सकिएको छैन । ‘गाउँ युवा परिषद् गठन गर्ने भनेर कार्यविधि मात्रै बनेको छ । केही सदस्यहरु मात्रै नियुक्त गरिएको छ । उपाध्यक्ष चयन गरिएको छैन’– यादवले भने– ‘युवा परिषद्को जुन लक्ष्य, उद्देश्य हो त्यही अनुसार जिम्मेवारी पनि दिएपछि राम्रो हुन्थ्यो ।’

राजपुर गाउँपालिकाले शिक्षा क्षेत्रमा प्राथमिकता दिएर लगानी गरेको छ । तर, लगानी अनुसारको प्रतिफल प्राप्त हुन सकेको छैन । यसपालिको एसइइको नतिजा कमजोर आएपछि युवामा नकारात्मक प्रभाव पारेको छ । विद्यालय तहमा भइरहेको पठनपाठन, विद्यार्थीको मनस्थिति, अभिभावकको भूमिकालगायत सबै पक्षलाई केलाएर निचोडमा पुग्न आग्रह गरिएको छ । युवा परिषद्को भूमिकालाई बढाउने गरी पालिकाले योजना निर्माण गरेर सघाउनुपर्ने गाउँ युवा परिषद्का सदस्य अम्रेशकुमार यादवले बताए ।

राजपुर गाउँपालिकास्तरीय युवा सम्मेलनमार्फत युवा परिषद्को भूमिका बढाउँदै हरेक क्षेत्रमा युवाको अर्थपूर्ण सहभागिताका लागि जोड दिइएको हो । महिला तथा बालबालिका शाखाको आयोजना तथा राजपुर गाउँपालिका युवा परिषद्को सह–आयोजनामा युवा सम्मेलन भएको थियो । ‘अव युवाको सहभागिता कहाँ र कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो ।

विगतमा गाविस हुँदँ, जिविस हुँदा युवाको सहभागिता कहाँ हुन्थ्यो । अहिले स्थानीय सरकार बनेपछि कसरी भइरहेको छ यसमा ख्याल गर्न जरुरी छ’ युवा अभियन्ता पुष्पराज अधिकारीले भने– ‘अव युवालाई कहाँ–कहाँ जोड्न सकिन्छ भनेर स्थानीय सरकारले नै योजना ल्याउन जरुरी छ ।’ जिल्लामा केही पालिकाले मात्रै युवालाई जोडेर कार्यविधि बनाएको देखिए पनि अन्य पालिकाले चासो नदिएको भनाई उनको छ ।

युवाहरुको हकहितको संरक्षण र प्रबद्र्धन गर्दै युवाहरुको सशक्तिकरण, समग्र विकासका साथै पैरवी र वकालतमा युवाहरुको भूमिका बढाउने उद्देश्यले गाउँ युवा परिषद् गठन गरिएको थियो । वडा तहमा युवा सञ्जाल र युवा क्लव गठन गरेर युवाहरुको सशक्तिकरणका साथै क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्ने गरी परिषद्को निर्माण गरिएको हो ।

‘शिक्षाबाट समग्र विकासको परिकल्पना गरेर शिक्षा क्षेत्रमा लगानी ग¥यौं । हामीले युवालाई सीपयुक्त दक्ष बनाउन खोज्यौं । तर, यसमा युवाहरुको चासो थोरै देखियो’– राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले भन्नुभयो– ‘युवाहरुमा उर्जा भर्न युवाहरुले नै अभियान चलाउनुपर्छ । हामी साथ दिन्छौं ।’

उपाध्यक्ष धनपतीदेवी यादवले युवाहरुको हरेक क्षेत्रमा समान सहभागिता र अवसरको सिर्जना गरिने प्रतिबद्धता व्यक्त गरे । ‘युवा देशका आधार हुन् । युवाहरुको सुनौलो भविष्यका लागि स्थानीय सरकारले समान अवसर र सहभागिताका लागि भूमिका खेल्छ’– उपाध्यक्ष यादवले भनिन्– ‘हामीले युवाहरुको क्षमता बढाउन चाहन्छौं । स्वरोजगारमूलक सीपका लागि आवेदन निकाल्दा त्यसमा युवाको चासो देखिदैन ।’

प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पाण्डेले युवाहरु समाजप्रति उत्तरदायी हुनुपर्ने बताए । शिक्षा शाखा प्रमुख केशव लम्सालले युवाहरुले समाज रुपान्तरणका लागि सिर्जनशील काम गर्न जरुरी रहेको बताउनुभयो । सम्मेलनको सहजीकरण महिला तथा बालबालिका शाखाका प्रतिनिधि दुर्गाप्रसाद यादवले गरेका थिए ।

-नयाँ युगबाेधबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे