राप्ती गाउँपालिकाले युवा र महिलालाई उद्यमी बनाउँदै, १८ जनाले लिए बेकरी तालिम



राप्ती गाउँपालिकाले युवा र महिलालाई उद्यमी बनाउँदै, १८ जनाले लिए बेकरी तालिम

भालुवाङ १८ असार । दाङको राप्ती गाउँपालिकाले युवा र महिलाहरूलाई लक्षित गरि बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी १० दिने तालिम प्रदान गरेको छ ।

“राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला“ भन्ने मूल नाराका साथ गाउँपालिकाको उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाको सीप विकास कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकाले सो तालिम प्रदान गरेको हो । बेरोजगार युवा तथा महिलाहरूलाई तालिमले रोजगारीको सिर्जना गर्ने र सीप विकास हुनुका साथै आफुले पनि घरमै व्यवसायी गर्न सकिने तालिमका सहभागीहरूको भनाई रहेको छ । अन्य व्यवसायी भन्दा बेकरी व्यवसायी आम्दानीको हिसावले पनि ५० देखि ६० प्रतिशत नाफा हुने र बाहिर गएर काम गर्नेहरूका लागि पनि बेकरी व्यवसायी राम्रो रहेको प्रशिक्षक निरज जोशीले बताए ।

व्यवसायी गर्न चाहाने युवा तथा महिलाहरुलाई सीप सिकाई उद्वमी बनाउने र उनीहरूलाई व्यवसायमा जोड्ने उदेश्यले तालिम सञ्चालन गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । त्यस्तै अध्यक्ष विष्टले तालिमले सहभागीहरूको आर्थिक जीवनस्तर सुधार्न टेवा पुग्नुका साथै उनीहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक विकासमा समेत सहयोग पुग्ने बताए । राप्ती गाउँपालिका राजधानीको पालिका भएकाले पनि यसको संभावना बढी भएकोले युवा र महिलालाई लक्षित गरी तालिम चलाएको अध्यक्ष विष्टले बताए ।

राप्तीका १८ जना युवा तथा महिलाले लिएको तालिम फलदाय बन्न जरूरी छ । गाउँपालिकाले राप्तीका युवा र महिलालाई उद्ममी बनाउन खोजेको सपना पूरा गर्न व्यवहारमा पनि उत्तिकै लागू गर्न आवश्यक छ । भने राप्तीले जस्तै देशभरका स्थानीय सरकारले यस प्रकारको तालिम दिन सक्ने हो भने केही हद सम्म बेरोजगारीको संख्यामा कमी आउने र विदेश जानेहरूको संख्यामा पनि कमी आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे