वन मान्छेको जीवन र प्राण संग गाँसिएको छ : मुख्यमन्त्री महरा



वन मान्छेको जीवन र प्राण संग गाँसिएको छ : मुख्यमन्त्री महरा

भालुवाङ १४ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले वन संग मानव जीवन जोडिएको बताउँदै उहाँले वन संरक्षण बिना मान्छेको जीवन र प्राण समेत नरहने भएकोले वन संरक्षण तर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले शुक्रबार राजधानीस्थल दाङ—देउखुरीको गढवा गाउँपालिका—२ कोठेरीमा आयोजना गरेको राष्ट्रिय बृक्षारोपण दिवस २०८१ को उद्धाटन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् ।

उनले मान्छे बाच्नका लागि अक्सिजन चाहिन्छ, अक्सिजन बिना मान्छे एक मिनेट पनि बाच्न पनि सक्दैन, जुन अक्सिजन रूखले दिन्छ, त्यसैले मानव जीवनयापनका लागि वन संरक्षण महत्त्वपूर्ण बिषय भएको बताए । मुख्यमन्त्री महराले जन सहभागीता विना वन, वातावरणको संरक्षण गर्न नसकिने भएकाले जन परिचालनमा जोड दिए । उनले वन मान्छेको जीवनसँग अभिन्न रूपमा गाँसिएको बताए ।

लुम्बिनी प्रदेश सरकारले शुक्रबार देखि प्रदेशभर बृक्षरोपण अभियान सुरु गरेको छ । दाङ-देउखुरीको गढवा गाउँपालिका वडा नं. ३, स्थित शान्ति सामुदायिक वन समूह कोठरीको ८ हेक्टर क्षेत्रमा एक हजार विरुवा रोपेन गरेर अभियानको सुरु गरिएको हो । यता प्रदेश सरकारले बृक्षारोपण अभियानको क्रममा यस बर्ष प्रदेशको १२ वटै जिल्लाहरुमा गरी कुल ७ सय ६५ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका २५ लाख विरुवा रोपण गरिने योजना वन तथा वातावरण मन्त्रालयले बताएको छ ।

प्रदेश सरकारले प्रदेशको १२ जिल्लामा रहेका डिभिजन वन कार्यालयले सामुदायिक वन संग समन्वय गरेर बृक्षारोपण अभियान सुरु गरेका छन् । बढ्दो जलवायू परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्न र वातावरणमा सन्तुलन कायम राख्न अनिवार्य रुपमा बृक्षारोपण गरिनुपर्ने वन तथा वातावरण मन्त्रालयका सचिव काफ्ले बताए ।

यस्तै लुम्बिनी प्रदेश सरकारले प्रत्येक २५ लाख विरुवा बृक्षारोपण गर्दै आएको छ । प्रदेश स्थापना भएदेखि हालसम्म करिब एक करोड ६१ लाख बढी विरुवा रोपिएको वन तथा वाताव।ण मन्त्रालयका सचिव मोहनराज काफ्ले जानकारी दिए । उनले यस बर्ष ७ सय ६५ हेक्टर विभिन्न प्रजातिका २५ लाख विरुवा रोपेर वन, वातावरण तथा जैविक विविधतामा संरक्षण पुर्‍याउने योजना रहेको र जसरी बृक्षारोपण गरिन्छ, त्यसरी विरुवा हुर्कने दर भने न्यून रहेको सचिव काफ्लेले बताए ।

यो सामुदायिक वनको आठ हेक्टर क्षेत्रफलमा मात्रै १२ हजार ८ सय विरुवा रोपण गर्ने उद्देश्य छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका उपभोक्ता, विद्यार्थी लगायत बृक्षारोपणमा सहभागी भएका थिए ।

सरकारले देशभर बार्षिक लाखौं बिरुवा लगाउँदै आएको छ । तर, जसरी वोटविरुवा लगाउने गरिन्छ, त्यसरी त्यसको संरक्षण भने हुन सकिरहेको छैन् । सरकारले बहुबर्षिय बोटविरुवाहरु लगाउन प्राथमिकता दिएको, यसबाट विरुवा मर्नेदर निकै कम हुने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले बताए ।

बृक्षारोपण उद्धाटन कार्यक्रमलार्इ सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीले वनलाई आय-आर्जनको माध्यमको रुपमा समेत विकास गर्ने गरी विरुवाको छनौंट गरी बृक्षारोपण गर्न थालिएको बताए । उनले सरकारले मौवा, जामुना, टिक, सतिशाल, अर्जुना लगायतका बोटविरुवालाई प्राथमिकिता दिएको र काठको साथसाथै फलफूलको रुपमा समेत आम्दानी गर्न सकिने गरी विरुवाको छनौंटमा समेत ध्यान दिइएको बताए ।

बृक्षारोपण दिवस उद्धाटन कार्यक्रम वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको प्रमुख आतिथ्यमा भएको थियो । उद्धाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री धर्मबहादुर चौधरी, संस्कृति, पर्यटन तथा उद्योग मन्त्री खड्ग बस्नेत, प्रदेशसभा सदस्य इन्द्रजित थारु, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले, डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्री, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे