समाजबाट अपहेलित हुने डरले खुल्न नसकेको लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको भनाई



समाजबाट अपहेलित हुने डरले खुल्न नसकेको लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको भनाई

भालुवाङ १६ असार । समाजबाट अपहेलित हुने डरका कारण समाजमा खुल्न नसकेको लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले बताएका छन् ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा मानव स्वास्थ्य समाज दाङले आइतवार राप्ती गाउँपालिकामा आयोजना गरेको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवाल विषयक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् । दाङको राप्ती गाउँपालिकामा पनि धेरै संख्यामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरु भए पनि छिटपुट वाहेक धेरै जना समाजमा खुल्न सकेका छन् । समाजमा खुल्न गाह्रो भएको उनीहरुको भनाई छ । पहिलो कारण त घरपरिवारबाटै दुव्र्यवहार तथा अपहेलित हुनुपर्ने अवस्था छ भने समाजमा खुल्ने हो भने घरपरिवार सँग बस्नै नसक्ने समस्या रहेको उनीहरुको गुनासो रहेको छ ।

आफ्नो हक अधिकार लिन समाजमा खुल्नुपर्छ तर समाजले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुलाई हेर्ने दृष्टिकोण गलत भएकै त्यसबाट समेत बञ्चित हुनु परेको उनीहरुको भनाई रहेको छ । त्यस्तै लैंगिक पहिचान अनुसारको जन्मदर्ता, नागरिकता जस्ता सरकारी प्रमाणपत्र सहजै पाउन कठिन हुने, विवाहले कानुनी मान्यता नपाउने, बलात्कार लगायत यौनजन्य हिंसा तथा दुर्व्यवहार सहनु परेको दुखेसो समेत पोखेका छन् । त्यस्तै उनीहरुले ३ तहकै सरकारले नीति, कार्यक्रम तथा योजना बनाएपनि कार्यान्वयनमा समस्या रहेको गुनासो गरेका छन् । मानव स्वास्थ्य समाज दाङका अध्यक्ष मुस्कान डिसीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मानव स्वास्थ्य समाज दाङ परियोजना संयोजक जुनु चौधरीले सहजीकरण गरेको कार्यक्रममा राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसी, पत्रकारहरु र लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको उपस्थिती रहेको थियो ।

यसै बीच संस्थाले राप्ती गाउँपालिका सँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्न चाहेकोले लागि यस आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट विनियोजन गरिदिनका लागि संस्थाकी अध्यक्ष मुस्कान डिसी र परियोजना संयोजक जुनु चौधरीले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष विष्टले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समस्या आफुले राम्रो सँग बुझेकोले समुदायको हित र विकासका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे