महिला सशक्तिकरणका लागि महिला आयोगले नै अलि बढी नै सक्रियता बढाउनु पर्छ : मुख्यमन्त्री महरा



महिला सशक्तिकरणका लागि महिला आयोगले नै अलि बढी नै सक्रियता बढाउनु पर्छ : मुख्यमन्त्री महरा

भालुवाङ ११ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगलाई सक्रियतापूर्वक काम गर्नका लागि आग्रह गरेका छन् । राष्ट्रिय महिला आयोग काठमाडौँले आज मंगलबार लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यका देउखुरीको लुम्बिनी हलमा आयोजना गरेको नितिगत बिषयमा प्रदेशसभाको संसदीय समितीका सभापति र महिला सांसदहरू संग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् ।

उनले संघीय सरकारलाई नीति नियम निर्माणमा पनि यस्ता छलफल तथा अन्तरक्रियाले सहयोग पुग्ने भन्दै त्यसतर्फ राष्ट्रिय महिला आयोगले पहलकदमी लिनुपर्ने सुझाव दिए । उनले नेपालमा विभिन्न आन्दोलन तथा जनयुद्धले सवै क्षेत्रमा जागरुकता स्मरण गराए । मुख्यमन्त्री महराले भने, ‘ महिलालाई सवै क्षेत्रमा सक्षम बनाउनका लागि राष्ट्रिय महिला आयोगले भूमिका खुल्न जरुरी छ ।’ नेपालमा अहिले महिलाहरू घरयासी कामकाजमा बढी व्यस्त भएको देखिन्छ । उनीहरुलाई सम्पत्तिमा पनि समान वितरणको अवसर प्रदान गर्नका सहजीकरण गर्न जरुरी भएको मुख्यमन्त्री महराले बताए ।

आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मुख्यमन्त्री महराले अन्तरक्रिया गरेर, सुझाव लिएर, संघीय सरकारलाई नीति नियम निर्माणमा सहयोग पुराउनु पर्दछ । महिलाहरूलाई सवै क्षेत्रमा सशक्तीकरण बनाउनका लागि प्रभावकारी भूमिका खेल्न सवैले सहयोग गर्न जरुरी रहेको मुख्यमन्त्री महराको भनाई रहेको थियो ।

उनले पछिल्लो समय नेपालमा महिलाहरू राजनीति र विचारमा अगाडि आएका बताउँदै मुख्यमन्त्री महराले उनिहरुलाई आर्थिक आय आर्जनमा पनि सहयोग पुराउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिलालाई सशक्तीकरण गर्नका लागि प्रदेश सरकारले थालनी गरेको भन्दै मुख्यमन्त्री महराले राष्ट्रिय महिला आयोगले लुम्बिनी प्रदेश सभाका महिला सांसदबाट आएका सुझावलाई समेटेर नीति नियम निर्माणमा सहयोग गर्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले नेपालमा समावेशी र समानताका लागि महिला आयोगले नेपालको संविधानमा टेकेर काम गर्नुपर्ने बताए । उनले समाजमा देखिएको विभिन्न विभेदको अन्त्यका लागि राष्ट्रिय महिला आयोगले अभियान चलाउनु पर्ने सुझाव दिए । उनले राष्ट्रिय महिला आयोगले आफ्ना कार्यक्रमहरू गर्दा देशका सातै प्रदेश सभा सँग सहकार्य गरेर नीति नियम निर्माण गर्दा उपलब्धीमूलक हुने धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले नीति निर्माण तहमा महिला नेतृत्वलाई परेका समस्यालाई लिपिवद्ध गरि समाधानको मार्गमा राष्ट्रिय महिला आयोग जानुपर्ने बताइन् । उनले महिलाहरूका हक ,अधिकार र कानुनी जटिलतामा देखापरेका समस्यालाई समाधानका लागि प्रदेश सरकार सँग सहकार्यका लागि पनि राष्ट्रिय महिला आयोग संग आग्रह गरिन् ।

यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारकी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री कृष्णा केसीले संविधानमा भएका कुरालाई लागू गर्नका लागि सबै निकायले सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताइन् । उहाँले आफ्नो घरपरिवारबाट नै छोराछोरी बिचमा हुने विभेदको न्यूनिकरणका लागि आफूले आफैबाट पहल गर्न जरुरी गरेको धारणा राखिन् । मन्त्री केसीले छोरीलाई विवाह गरेर पठाउँछौँ, त्यस्तै बुहारी विवाह गरेर ल्याउँछौँ भन्दै मन्त्री केसीले छोरी र बुहारीलाई समान दृष्टिकोणमा राखेर हेर्नुपर्ने बिचार व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले नेपालका सबै प्रदेशका प्रदेश -महिला) सांसद संग प्रत्यक्ष रुपमा छलफल गर्दै आइरहेको जानकारी दिनै नीतिगत रुपमा काम गर्न सहज भएको बताइन् । उनले समाजमा अहिले पनि महिला पुरुष बिच ठुलो विभेद भएको भन्दै त्यसको न्यूनिकरणका लागि जनप्रतिनिधिहरू सँग राष्ट्रिय महिला आयोगले सहकार्य गरेर काम गरिरहेको जानकारी दिइन् ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभा नीतिगत विषयका प्रदेश सभा संसदीय समितिका सभापतीहरु र महिला सांसदहरूको उपस्थित रहेको थियो । उपस्थित सभापति तथा महिला सांसदहरुले राष्ट्रिय महिला आयोगले गर्नुपर्ने विषयमा आफ्नो धारणा तथा सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे