थारू रेस्टुरेन्ट खोल्न चाहन्थिन् शान्ता, अचार बनाउन थालिन्



थारू रेस्टुरेन्ट खोल्न चाहन्थिन् शान्ता, अचार बनाउन थालिन्

काठमाडौं १० असार । कसरी–कसरी उनी मुक्त कम्लहरी हुँदै राजनीतिको विशाल समुन्द्रमा पौडन आइसकेकी थिइन् । ०६४ सालको संविधानसभा सदस्य भइन् र विस्तारै राजनीतिमा सक्रिय पनि । राजनीतिक जिम्मेवारीकै क्रममा पूर्वपश्चिम गरिरहनुपर्‍यो ।

यो सबै दाङकी शान्ता चौधरीको जीवनमा यति छिट्टै भइरहेको थियो कि आफैं पनि धेरै सोच्नै पाइनन् । तर उनलाई सधैं एउटा सपनाले भने सधैं पछ्याइरहेको थियो, ‘एउटा सुविधासम्पन्न थारु रेस्टुरेन्ट बनाउने, थारु परिकारको ब्रान्डिङ गर्ने ।’

थारु परिकार मात्रै पाइने रेस्टुरेन्ट खोल्न केही प्रयास पनि नगरेकी होइनन् । तर उनीसँग उपाय थियो न अनुभव । झ्याप्पै हात हालिहाल्न पनि आँट गरिनन् । बरु उनले जानेको एउटा सीप थियो, थरीथरी अचार बनाउने । कहिलेकाहीँ साथीहरुले आफैं सामान दिएर उनलाई अचार बनाइदिन लगाउँथे । उनले बनाएका अचार बनाउँदै तारिफका शब्द बर्साउँथे ।
राजनीतिमा लागेका हुनाले शान्तासँग अर्को कुनै आम्दानीको स्रोत थिएन । घरदेखि ल्याउन उनीसँग पुग्दो पुख्र्यौली सम्पत्ति थिएन । भएको भए त दासझैं कमैया कहाँ बस्थिन् र ?त्यही अभावको समयमा उनले आफ्नो सिपलाई फेसबुकमा राखेर प्रचार गर्न थालिन् । सुरुमा शान्ताले फेसबुकबाटै अचारको अनलाइन व्यापार गर्न थालिन् । पहिले पहिले त आएका मागहरुलाई घरघरमै पुर्‍याइदिने व्यवस्था मिलाएकी थिइन् । पछि विस्तारै माग बढ्दै गयो, उनले मागे जति अचार बनाउनै सकिनन् ।
‘रेस्टुरेन्ट खोल्ने भनेर सोचेको थिएँ खासमा । तर त्यसको बारेमा केही पनि थाहा थिएन । आफ्नै भान्सामा बनाएको अचार फेसबुकमा राखेर बेच्न थालें, धेरैले रहर देख्लान् त्यो मेरो बाध्यता थियो’, शान्ता भन्छिन्, ‘तर नसोचेको भयो । सुरुबाटै यति धेरै माग भयो कि मैले सबै माग धान्नै सकिनँ ।’ मोबाइलमा पोस्ट राख्दा देशभित्रबाट मात्रै नभई बाहिरबाट पनि अचारको चर्को माग आएपछि शान्ता हौसिइन् । त्यसपछि अचारकै उद्योग बनाएर व्यवसाय चलाउने निधोमा पुगेको उनले बताइन् ।

शान्ताका अनुसार अचार उद्योग खोल्ने प्रस्तावमा सुरुमा छोराछोरीले पनि साथ दिएका थिएनन् । ‘फेसबुकमा राख्दा त यति राम्रो माग छ । उद्योग नै चलाएर राम्रोसँग चलाउँदा हुन्छ नि भनेर बल्लबल्ल सम्झाएँ’, उनले भनिन्, ‘जानेको सिप त्यही थियो । अचार राम्रै बनाउन सक्छु भन्ने आफैंमा कन्फिडेन्स पनि भयो । ’

झन्झटिलो प्रक्रिया :

एउटा सामान्य नागरिकलाई कुनै उद्यम वा व्यवसाय दर्ता वा सञ्चालन गर्न कति हैरानी खेप्नुपर्छ ? राज्यले तोकेको कर तिरेर सम्मानपूर्वक व्यवसाय चलाउँछु भन्दा पनि पाइलैपिच्छेको हण्डरले मनमा के जाग्छ होला ? पूर्वसांसद शान्ता चौधरीले त्यसबेला आफैंले भोगिन्, जब अचार उद्योग दर्ता प्रक्रियामा सामेल भइन् । नेपालमा कोही उद्यमी सुरु गर्छु भनेकै दिनबाट दुःख पाउने गरेको र लामो र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्दा उत्साह निराशामा परिणत भइसक्ने उनको अनुभव छ ।

नीति नियममा तोकिएको जम्मै कागजात र प्रक्रिया पुर्‍याएर सम्बन्धित कार्यालयका फाँटमा पुग्दा पनि उनी पटकपटक खाली हातै फर्किनुपर्‍यो । ‘उद्योगको दर्ता, बिक्री अनुज्ञापत्रका लागि कानुनी प्रक्रिया पूरा गर्नैै ६ महिनाजति लाग्यो । एउटै कामका लागि घरीघरी प्रशासन धाइरहँदा वाक्क लागेको थियो’, शान्ता भन्छिन्, ‘दाङ–नेपालगञ्ज त कति पटक ओहोरदोहोर गर्नुपर्‍यो । कम्पनी दर्ता प्रक्रियाका लागि मात्रै डेढ महिनाभन्दा बढी लाग्यो ।’

घरेलु उद्योग, कम्पनी दर्ता, खाद्य, प्रशासन सबै ठाउँमा पुगिन् । लम्बेतान प्रक्रिया र कर्मचारीको रुखो बोली तथा व्यवहारले आफू पनि निरास भएको उनी बताउँछिन् । शान्ता पो पूर्वसांसद, परिचित अनुहार थिइन् ! कहीँ–कहीँ त परिचय दिए मात्रै पनि काम लाग्थ्यो । सबै भुइँ मान्छेको त्यो पहुँच कहाँ ?

‘सबै ठाउँमा आफ्नो परिचय दिँदै हिँड्ने कुरा पनि भएन । तर, कतैकतै बाध्य पनि भइयो’, शान्ताले अनुभव सुनाइन्, ‘अझै पनि मलाई लाग्छ त्यो दिन म को हुँ भनेर आफ्नो परिचय नखुलाएको भए मेरो काम त्यति सहजै हुँदैनथ्यो होला ।’

उद्योग खोल्छु भनेर लागेको ६ महिनाभन्दा बढी समयपछि मात्रै दर्ता भएको उनले सुनाइन् । ‘कतिपय प्रक्रिया यति झन्झटिला छन् कि के गर्ने भनेर थाहा पनि हुँदैन । त्यस्तोबेला सम्बन्धित ठाउँमा बसेकाहरुले सहजीकरण गरिदिनुपर्ने हो, तर गर्दैनन्’, उनले भनिन्, ‘६/७ महिना कुदेकोकुद्यै गरेपछि बल्ल ढुक्कले लामो सास तानें ।’

शान्ताको नामै ‘ब्रान्ड’ :

सुरुमा दाङमा घरको छतबाट अचार व्यवसाय सुरु गरेकी उनले अहिले उद्योगकै लागि नयाँ भवन बनाइरहेकी छिन् । उनका अनुसार भवन निर्माण अन्तिम चरणमा छ । व्यवसाय फैलाउँदै उनले करिब २ महिनाअघि ललितपुरमा पनि गोदाम खोलेकी छन् । ललितपुर बाफलमा नयाँ शाखा विस्तार गरेको ३/४ दिनमात्रै भएको छ ।
दाङमा ६ जनाले काम गरिरहेका छन् भने ललितपुर शाखामा ९ जनाले रोजगारी पाएका छन् । आइतबार ग्वार्कोमा शान्ताको अचारको नयाँ गोदाममा पुग्दा उनी काममै व्यस्त थिइन् । अचारका विभिन्न प्रकार मिलाउनेदेखि कर्मचारीलाई ‘रेसिपी’ सिकाइरहेकी थिइन् ।

‘आफैंले नचाख्दासम्म चित्त नै बुझ्दैन । चाख्दाचाख्दा ग्यास्टिक नै भइसक्यो’, उनले ठट्टा गरिन् । शान्ताले आफ्नै नाम ‘ब्रान्ड’ भएकाले त्यही नामबाट अचार उद्योग खोलेको बताइन् । ‘फेसबुकमा पोस्ट गरेकै भरमा धेरै जनाले मेरो अचार मन पराइदिनुभयो । त्यसमा कहीं न कहीं मेरो विगत, मेरो नाम जोडिन्छ नै । मेरो नामले कतै न कतै काम गरेको हो भन्ने मलाई पनि लाग्छ’, उनले भनिन्, ‘म आफैं एउटा ब्रान्ड हो भनेर आफ्नै नाममा कम्पनी खोलें ।’

उनका अनुसार अचार व्यवसायमा ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । शान्ताको अचार उद्योगले अहिले विभिन्न २२ थरि अचार बनाइरहेको छ ।
नेपालका विभिन्न शहरसहित अस्ट्रेलिया, अमेरिकादेखि युरोपका सहरसम्म अचार निर्यात हुँदै आएको उनी सुनाउँछन् । जापान केही खाडी मुलुकमा भने तत्काल पुर्‍याउन सक्ने स्थिति नरहेकाले आफूले सम्झौता नगरेको बताइन् ।

‘विश्व बजारमा अचारको एकदमै राम्रो माग रहेछ । तर प्रक्रिया झन्झटले गर्दा नै बिक्री अनुज्ञापत्र सीमितसँग मात्र छ’, शान्ताले भनिन्, ‘त्यही भएर पनि विदेशतिर पुर्‍याउन सकिरहेका छैनौं ।’ मासु, टिमुरको छोप, मिक्स र आँपको अचारको एकदमै बढी माग रहेको उनले सुनाइन् ।

शान्ता युवाहरुलाई आफूले जानेकै सीपका आधारमा उद्यम सुरु गर्न सुझाव दिन्छिन् । ‘मान्छे सफल हुने भनेको आफूले राम्रोसँग जानेको कुरामा हात हाल्यो भनेमात्रै हो, किनकी उसलाई कहीँ बिग्रियो भने कसरी बनाउने भन्ने सबै थाहा हुन्छ’, उनले भनिन्, ‘उद्यमीको पहिलो शर्त नै सीप रैछ ।’

-अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे