लुम्बिनीका विभिन्न जिल्ला जोड्ने सडकमा पहिरो : विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्रकाे आग्रह



लुम्बिनीका विभिन्न जिल्ला जोड्ने सडकमा पहिरो : विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्रकाे आग्रह

दाङ १२ असाेज । अविरल बर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक खण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ । पहिरोका कारण आवागमन प्रभावित भएको छ भने सडक सुचारु गराउन सुरक्षाकर्मी र स्वयंमसेवकहरु परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१, गर्जेनी स्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४, पाखुरी खोलामा पहिरो झरेको छ । नौवहीनी गाउँपालिका–७, कालिमाटी स्थित मैरामारे देखी बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ । अर्घाखाँची स्थित पाणेनी गाउँपालिका–२ सालझण्डी ढोरपाटन सडक, गोरुसिंगे–सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, दाङ सल्यान राप्ती राजमार्ग, घोराही लमही–सडक खण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ । पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ ।

सन्धिखर्क–११, धारामाथी वस्ने जुद्ध बहादुर नेपालीको घर अविरल वर्षाको कारण जोखिममा परेपछी परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिकएको छ । शितगंगा नगरपालिका–७, जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको दुई तले क्च्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षती पुगेको छ । आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।यसैबीच लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न अपिल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल बर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गरेका हुन् ।

उनले तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयमसेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा अपिल गरेका छन् ।‘जो जहाँ छौं सुरक्षित बसौं । आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौं । कही कतै विपद् आईपरेको खण्डमा आफु सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन अपिल गर्दछु’ मुख्यमन्त्री आचार्यले भने,‘यो विपद्को वेलामा एकले अर्कालाई सहयोग गर्न जरुरी छ । सहयोग र हातेमालोबाट विपद्बाट हुने क्षतीलाई कम गर्न सकिन्छ ।’ लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको हाल सम्म बाढीका २८ वटा घटना घटेका छन् । जसमा परेर ९ जनाको मृत्यु भएको छ भने ४ जना घाईते र ८ जना वेपत्ता छन् । पहिरोका २१ वटा घटना घटेका छन् । जसमा परेर ८ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आगलागीका ४८ वटा घटना भएका छन् ।

जसमा परेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका थिए । चट्याङका १७ वटा घटना भएका छन् । जसमा परेर ४ जनाको मृत्यु भएको छ भन् २२ जना घाईते भएका छन् । पानीमा डुबेर ४८ जनाको मृत्यु भएको छ भने ७ जना घाईते र एक जना वेपत्ता छन् । मानव सिर्जित विपद्का घटनाहरुले मानवीय क्षती बढी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थिले बताए । लुम्बिनी प्रदेश भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका विपदको उच्च जोखिममा छ ।

विपदले सबैलाई समान रुपमा असर गरेपनि यसबाट पर्ने प्रभाव व्यक्ति, परिवार रसमुदायको उत्थानशिलता, अनुकुलन क्षमता र संकटासन्नताको आधारमा असमान हुने, विद्यमान अवस्थामा सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक र राजनीतिक पहुँचमा कमी भएका समुदाय तुलनात्मक रुपमा बढी प्रभावित हुने अवस्था छ । यस्तो अवस्थाबाट पार पाउनका लागी लुम्बिनीमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण रणनीति कार्ययोजना समेत निर्माण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे