राप्ती नदीमा विपद हातेमालो अभ्यास



राप्ती नदीमा विपद हातेमालो अभ्यास

भालुवाङ ७ असार । दाङको लमही नगरपालिका–६ मध्यनगर स्थित राप्ती नदीमा पानीजन्य विपद्को एकीकृतरुपमा हातेमालो अभ्यास गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले कृतिम घटना अभ्यास गरेर आफ्नो क्षमता प्रदर्शन गरेका छन् ।

लुम्बिनी प्रदेशमा आइपर्ने जस्तोसुकै विपद्को सामना गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको यो अभ्यासले सन्देश प्रवाह गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, आन्तरिक मामिला, तथा कानुन मन्त्री दिनेश पन्थी, सभामुख तुलाराम घर्ती लगायत सुरक्षा निकायका प्रमुख व्यक्तिको उपस्थितिमा एकीकृत अभ्यास हातेमालो प्रदर्शन गरिएको थियो । सो अभ्यासका क्रममा मुख्यमन्त्री महराले प्राकृतिक प्रकोपबाट कसरी सुरक्षित रहने भन्ने कुरा महत्वपुर्ण भएकाले सवै भन्दा पहिला सचेतनाको आवश्यकता रहेको बताएका छन् ।

तराईमा बाढी पहिरो र पहाडमा पहिरो तथा आगलागीको घटना बढी मात्रमा हुने गरेको बताउँदै त्यसको रोकको पहिलो माध्यमनै समुदायका मानिसलाई सचेत बनाउनु पर्ने बताएका छन् । विपदमा परेकालाई खोज तथा उद्धार गर्नु राम्रो हो तर मानव बस्ने बस्ती कुन ठाउँमा सुरक्षित हुन्छ त्यस विषयमा ध्यान दिन आवश्यक रहेको बताए । मुख्यमन्त्री महराले अव घर बनाउँदा स्थानीय तहले नै कुन ठाउँमा घर बनाउँदा उपयुक्त हुन्छ त्यसको अनुमति अर्थात स्वीकृत दिने व्यवस्था मिलाउन सक्ने हो भने केहि हद सम्म विपदबाट बच्न सक्ने बताए ।  त्यस्तै उनले विपद् प्रतिकार्यको लागि प्रदेश भित्र रहेका सबै अङ्ग परिचालन हुनुपर्ने बताए । उनले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बजेटको अभाव हुन नदिने बताए । प्रदेश सरकार विपद्बाट हुने क्षति कम गर्न प्रतिबद्ध रहेको बताएका छन् । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले विपदबाट जोगिन तथा साबधानी अपनाउन के के कुरामा ध्यान दिनुपर्ने भन्ने कुरा महत्वपुर्ण रहेको भन्दै आधुनिक प्रविधिको प्रयोग तथा परिचालनमा ध्यान दिन आग्रह गरेका छन् । उनले विपद न्युनीकरणका लागि जनप्रतिनिधि, सरोकारवाला, सर्वसाधारण सवैको हातेमालोमा अगाडी बढ्न सुझाव दिएका छन् ।

मनसुन पूर्व अनुमान विभागका अनुसार यस बर्ष सरदर भन्दा ३५ देखि ५५ प्रतिशत बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । सोही हाराहारी वर्षा भए लुम्बिनी प्रदेशमा मनसुन जन्य बिपत्तीवाट ३ लाख ३६ हजार ५ सय ५८ जना मानिस प्रभावित हुने डाटा सार्वजनिक भए लगत्तै मनसुनजन्य विपत्ति व्यवस्थापनका प्रदेश सरकार सकृय देखिन्छ । यसै बीच बिहिवार विपत सम्बन्धी प्रदेश राजधानीको लुम्बिनी हलमा बृहत कार्यशाला गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी प्रदेस सरकारको संयोजकत्वमा प्रदेश स्थित सम्पूर्ण सरोकारवालाको सहभागितामा विपत व्यवस्थापन सम्बन्धी एकीकृत अभ्यस हातेमालो बिषयमा कार्यशाला गोष्ठीमा प्रदेस, जिल्ला स्तरीय तिनै वटा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, लुम्बिनी प्रदेश सरकार विपत सम्बन्धी मन्त्रालयका प्रतिनिधि ,गैरसरकारी सस्थाका प्रतिनिधिहरुको सहभागी रहेको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाली सेना तथा मध्य पश्चिम पृतना हेडक्वाटरको विपद् व्यवस्थापन, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी नेपाल बल ५, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य महासंघ, पत्रकार, सरोकारवालाहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे