राप्तीमा लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको सप्ताह व्यापी कार्यक्रम सुरु



राप्तीमा लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको सप्ताह व्यापी कार्यक्रम सुरु

भालुवाङ ६ असार । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय युवाहरु लागु औषधको दलदलमा फस्दै गइरहेको बताएका छन् ।लागुऔषध रहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नाराका साथ राप्ती गाउँपालिका, इलाका प्रहरी कार्र्यालय भालुवाङ र प्रहरी चौकी मसुरीयाको संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विहिवार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा आयोजित लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रमको उद्घाटन गर्दैै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । अध्यक्ष विष्टले लागुऔषध दुव्र्यशनमा युवाहरु फस्नुको मुख्य कारण नेपालको शिक्षा प्रणाली संस्कार युक्त नभएको बताएका छन् । अध्यक्ष विष्टले शिक्षा क्षेत्रमा जति ठुलो लगानी लगाए पनि बालबच्चा तथा युवाहरुलाई संस्कारी बनाउन नसके सम्म लागु औषध दुव्र्यशनबाट युवाहरुलाई अलग राख्न नसक्ने बताएका छन् ।बालबालिकाहरुलाई घरमा अभिभावकले र विद्यायमा शिक्षकहरूले संस्कार सहितको शिक्षा दिनुपर्ने र उनीहरूको बानी व्यावहारमा ध्यान दिनुपर्ने बताए । लागुऔषधले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै समग्रमा असर गर्ने भएकाले यसको प्रयोग तथा बिक्री वितरणमा राज्यले कडा नीति लिनुपर्ने अध्यक्ष विष्टको भनाई थियो । त्यसका लागि सरकार र सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको बताएका छन् । त्यस्तै अध्यक्ष विष्टले लागुऔषधले मानिसको शारिरीक, मानसिक स्वास्थ्यमा गम्भिर असर पार्ने भएकाले विद्यालय तहबाटै लागुऔषध सम्बन्धी सचेतना कक्षा संचालन गरिनुपर्ने बताएका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक अमरबहादुर माझीले लागुऔषध आणविक हतियार प्रयोग गरि गरिएको युद्ध भन्दा पनि खतरनाक भएको बताउँदै पछिल्लो चरण युवा पुस्ताहरुमा यसले क्यान्सरको जस्तो रुपमा फैलिदै गएको बताउका छन् । त्यस्तै उनले लागुऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । त्यस्तै नार्काेनन् संस्थाका लुम्बिनी प्रदेश संयोजक बसन्त पुन मगरले लागुऔषध दुव्र्यशनी शहरीकरणको उपज भएको बताउँदै त्यसको रोकथाम र व्यवस्था गर्नु सबैको दायित्व भएको बताएका छन् ।प्रहरी सहायक निरिक्षक दिलिप योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरिक्षक खेमराज खनालले गरेका थिए । कार्यक्रमको पहिलो दिन बिहीबार बिहान प्रभातफेरी तथा सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ । राप्ती गाउँपालिका जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय भालुबाङ र मसुरीयाका प्रहरीहरु एवं विभिन्न विद्यालयका शिक्षक तथा स्काउट विद्यार्थीहरुको सहभागीतामा प्रभातफेरी तथा सचेतना मूलक कार्यक्रम गरिएको हो।राप्ती गाउँपालिका वडा नं. ३ स्थित श्रीचौर खेलमैदानबाट लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको विभिन्न जनचेतनामूलक प्लेकार्ड सहित सुरु भएको प्रभातफेरी गाउँपालिकाको कार्यालय मसुरीयामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

सप्ताह व्यापी कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका विभिन्न विद्यालय तथा टोलहरुमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ । विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ ।नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे