नयाँ बुटवल–लमही ४ सय केभी प्रसारण लाइन निमार्ण गरिने, रिहारमा सवस्टेशन बन्ने



नयाँ बुटवल–लमही ४ सय केभी प्रसारण लाइन निमार्ण गरिने, रिहारमा सवस्टेशन बन्ने

भालुवाङ १ असार । नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल–लमही प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले १ सय ७० किलोमिटर लामो ४०० केभी अर्थात ४ हजार मेगावाट क्षमताको विद्युत प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको हो ।

लुम्बिनी प्रदेश नबलपरासी सुस्ता पश्चिम जिल्लामा रहेको नयाँ बुटबल सबस्टेसन (भूमही) देखि रुपन्देही, कपिलवस्तु जिल्लाको मोतिपुर सबस्टेसन, अर्घाखाँची हुँदै दाङको लमही सबस्टेसन सम्मको लाइन निर्माण प्रक्रिया अघि बढाएको हो । प्रसारण लाइन नबलपरासीको सुनवल, रुपन्देहीको देवदह, सैनामैना, बुटबल उपमहानगरपालिका, कपिलवस्तुको बाणगंगा, बुद्धभुमी, शिवराज नगरपालिका, अर्घाखाँचीको शीतगंगा नगरपालिका र दाङको गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिका सम्म प्रस्ताव गरिएको छ । भविष्यमा विद्युत आपूर्ति सहज बनाउने उद्देश्यले नयाँ बुटवल–लमही ४०० केभी विद्युत प्रसारण लाइन तथा सवस्टेशन आयोजना कार्यान्वयन हुने भएको हो ।

२६ अर्ब ४० करोडको प्रस्तावित बजेटमा दुई हजार मेगावाट विद्युत बोक्ने क्षमताको विद्युत प्रसारण लाइन तथा सवस्टेशन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश भित्र नयाँ विद्युत प्रसारण लाइन तथा सवस्टेसन बन्ने र यसबाट उज्यालो नेपाल अभियान कार्यान्वयनलाई थप योगदान पुग्ने नेपाल विद्युत प्राधिकरण चार सय केभी प्रसारण लाइन आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले बताए ।प्रसारण लाइन नवलपरासी (पश्चिम) जिल्लामा रहेको नयाँ बुटवल सबस्टेशन (भूमही)बाट सुरु भई रुपन्देही, कपिलवस्तुको मोतिपुर सबस्टेशन, अर्घाखाँची हुँदै दाङको लमही सबस्टेशनमा पुगेर टुङ्गिने आयोजनाले जनाएको छ ।
यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र दाङको गढवा गाउँपालिकाको वडा नम्बर १, राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ र ८ तथा लमही नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८ र ९ भएर प्रसारण हुने छ । तोकिएको आयोजना स्थलमा कुल चार सय ४३ वटा टावरहरु निर्माण गरिने छ । जस मध्ये २१३ डिए, १३५ डिबी, २६ डिसी, ४९ डीडी र १३ क्यु डिडी प्रकारका टावरहरु हुने छन् । सबैभन्दा अग्लो टावर ९० मिटर र सबैभन्दा होचो टावर ६४ मिटरको हुने छ । अधिकांश टावरको उचाई औसतमा ७० मिटरको हुने छ ।

भूमही देखि रिहार सम्मको बिद्युत प्रसारण लाइन बन्दै गर्दा दुई स्थानमा सबस्टेशन निर्माण हुने छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका, ७ मोतीपुरमा नयाँ विद्युत प्रसारण लाइनको सव स्टेशन निर्माण हुने छ । जुन सवस्टेशन ९.९ हेक्टर क्षेत्रफलमा फैलिने छ । यस्तै लमही नगरपालिका–९ रिहारमा पनि नयाँ विद्युत प्रसारण लाइनको सव स्टेशन निर्माण हुनेछ । जुन सवस्टेशन ११ हेक्टर क्षेत्रफलमा फैलिने छ । यसले विद्युतको आपूर्ति धान्न नसक्ने अवस्थामा चार सय केभी नयाँ प्रसारण लाइन आयोजना आवश्यक परेको जनाइएको छ । देशमा विद्युतको माग पूरा गर्न नयाँ प्रसारण लाइन आवश्यक परेको विद्युत प्राधिकरणले जनाएको छ । ‘यो आयोजना कार्यान्वयनमा आयो भने लो भोल्टेजको समस्या समाधान हुन्छ, नयाँ उद्योगहरुलाई सहज रुपमा विद्युत पु¥याउन सकिन्छ’– आयोजना प्रमुख झाले भने– ‘यति मात्रै होइन, यो प्रसारण लाइन मार्फत अन्तरदेशीय विद्युत व्यापार समेत गर्न सकिन्छ, भारतमा विद्युतको माग धेरै हुँदा त्यहाँ बिक्री गर्न सकिन्छ ।’ पूर्व–पश्चिम नयाँ प्रसारण लाइन राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

एशियाली विकास बैंकको लगानीमा आयोजना सञ्चालनको तयारी छ । विद्युत प्राधिकरणबाट लाइन निर्माणको लागि सहमति प्राप्त भएको छ । ‘विद्युतको माग पश्चिम क्षेत्रमा बढ्दो छ, १३२ केभी प्रसारण लाइनले १०० मेगावाट विद्युत धान्न सक्दैन’– आयोजना प्रमुख झाले भने– ‘स्थानीय माग बढ्दो छ, त्यसमा पनि ठूला उद्योगहरु बन्ने क्रममा रहेकाले विद्युतको माग बढ्दो छ, यही मागलाई पूरा गर्न नयाँ प्रसारण लाइन आवश्यक परेको हो ।’ अहिलेसम्म सर्भेको काम सकिएको छ । प्रसारण लाइनको टावर बस्ने स्थानहरुको निर्धारण गर्ने काम भएको छ । माटो परीक्षण, टावर तथा टावरको फाउण्डेशन डिजाइन गर्ने, लाइडर सम्वन्धी ठेक्कापट्टाको कामहरु शुरु भएको छ । बोलपत्रको कागजातहरु तयार पार्ने काम शुरु भएको र प्रारम्भिक अधिकृत तोक्नको लागि मन्त्रालयमा पत्र पठाइएको आयोजनाले जनाएको छ ।

नयाँ बुटवल–लमही ४ सय केभी प्रसारण लाइन आयोजनाको वातावरणिय प्रभाव मुल्याङ्कन मस्यौदा प्रतिवेदन माथि छलफल
दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोगमा, विद्युत प्रसारण तथा वितरण सुदृढीककरण परियोजना, नयाँ बुटवल लमही ४०० केभी प्रसारण लाइन आयोजनाको वातावरणिय प्रभाव मुल्यांकनको मस्यौदा प्रतिवेदन उपर शनिवार दाङको राप्ती गाउँपालिका र लमही नगरपालिकामा छलफल तथा अन्तरक्रिया गरिएको छ । नेपाल सरकार र एसियाली बिकास बैंकको सहुलीयतपूर्ण ऋण सहयोगमा यो आयोजना निर्माण हुने भएसंगै विद्युत आपुर्तिमा सुधार आउने विश्वास व्यक्त गरिएको छ ।

बुटवल देखि लमही सम्म करिव १ सय ७० किलोमिटर ४०० केभी अर्थात ४ हजार मेगावाट क्षमताको विद्युत प्रसारण गरिने योजना रहेको छ । आयोजना अध्ययनको कममा अन्य थुप्रै वैकल्पिक रुट अलाईन्मेन्ट बारेमा छलफल गरि रुट निर्धारण गर्दा न्युन जग्गा अधिग्रहण, आदीवासी, सीमान्तकृत एवम् स्थानीय समुदायमा न्युन प्रभावको आधारमा छनोट गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।
लोपोन्मुख प्रजातिहरु सहित प्रमुख प्रजातिहरुको बासस्थानको ह्रास, चुरे संरक्षण क्षेत्रको प्रभाव लगायत सम्पुर्ण क्षेत्रको प्रभावलाई न्युनिकरण गर्दै आयोजनाको काम हुने कार्यक्रममा बताईएको छ ।

आयोजनाका प्रमुख वीरेन्द्र कुमार झाले वस्तीको रुट बाट आयोजनाको काम सञ्चाल गर्दा धेरै घरपरिवारलाई समस्या हुने भएकाले जंगल क्षेत्रबाट रुट निर्धारण गरिएको बताए । उनले आयोजनाको काम गर्दा नष्ट काट्नुपर्ने रुखहरुको सन्दर्भमा मासिएको बन क्षेत्र खरिद गरि एक रुख बराबर १० वटाका दरले वृक्षरोपण गरि वातावरणिय सन्तुलनलाई कायम राख्ने बताए । कार्यक्रममा आयोजनाको अहिले सम्म भएको प्रगति, वातारणीय प्रभाव मुल्यांकन प्रस्तुतीसंगै उपस्थित सरोकारवालाहरुको जिज्ञासाको जवाफ एसियाली बिकास बैंककाका प्रतिनिधि निक स्किनरले दिएका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरुले सबै पक्षलाई सन्तुलनमा राखि योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा आयोजनका प्रशासन प्रमुख नारायण अधिकारी, लेखा प्रमुख पुष्प ढुंगाना, ईन्जिनियर अनिल भट्टराई, संजय पौडेल, दिपेन्द्र ठाकुर, सुपरभाईजर सन्तोष वाग्ले, प्रकाश देवकोटा, लेखापाल छविलाल पन्थी गायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे