राप्ती गाउँपालिकाकाे बड्का सिसहनियाँमा सञ्चालित हस्तकला सीप विकास तालिम सम्पन्न



राप्ती गाउँपालिकाकाे बड्का सिसहनियाँमा सञ्चालित हस्तकला सीप विकास तालिम सम्पन्न

देउखुरी ३२ जेठ । दाङ-देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा १५ दिने हस्तकला सम्बन्धी सीप विकास तालिम शुक्रबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष कमलापती चाैधरीको विशिष्ट आतिथ्यतामा उक्त तालिम समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीयस्तरको सीप कलालाई देश विदेशसम्म पु¥याउन सिकेको सीपलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । पुरानो कला संस्कृति र परम्परालाई जोगाइ राख्न यस्ता सीपको विकासमा आफूहरु लागिपरेको अध्यक्ष विष्टको भनाइ थियो ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले हस्तकला सामाग्रीहरुकाे बजारको राम्रो सम्भावना भएको बताउदै तालिमले महिलाहरूलाई स्वरोजगार भई आयआर्जन गर्न थप सहयोग पुग्ने बताइन् । त्यस्तै परम्परागत भन्दा पृथक शैलीबाट आकर्षक तवरले निर्माण गरिएका उत्पादनले विदेशी बजारमा समेत मूल्य पाउने उपाध्यक्ष चाैधरीको भनाइ थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले गाउँपालिकाले उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत महिलाहरुलाई हस्तकला सम्बन्धी सीप सिकाई उद्यमशीलता तर्फ अग्रसर गराउने पालिकाकाे उदेश्य रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत ओलीले तालिमका सहभागीहरुले उत्पादन गरेका सामाग्रीहरुकाे बजारीकरणमा पालिकाले सहयोग गर्ने बताउँदै सीप सिकेर सफल व्यवसायी, उद्यमी बन्नसके मात्र तालिमको उपलब्धि हुने बताए ।

तालिमको प्रशिक्षार्थी राजकुमारी चाैधरीले तालिम निकै उपयाेगी भएको बताउदै आगामी दिनमा अझै सीप अभिबृद्धि गर्ने खालका कार्यक्रम ल्याइदिन आग्रह गरिन् । राप्ती गाउँपालिकाकाे आयोजना तथा मल्टिसेक्टर इन्जिनियरिङ कन्सल्टेन्सी शान्तिनगर दाङको आयोजना सम्पन्न तालिमका सहभागीहरुलाई ढकीया,हटकेश,पेन होल्डर,गमला,पुजादनी,सुपारी बास्केट,पान ट्रे लगायतका विभिन्न हस्तकलाका सामाग्री बनाउन सिकाइको थियो ।  १४ जना महिलाहरुकाे सहभागीता रहेको तालिमको प्रशिक्षकमा श्रीकुमारी चाैधरी रहेकी थिइन् । तालिम समापन कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे