छुवाछूत प्रथाको अन्त्य व्यक्ति तथा परिवारबाट गर्न आवश्यक छ



छुवाछूत प्रथाको अन्त्य व्यक्ति तथा परिवारबाट गर्न आवश्यक छ
सिसहनियाँ १७ जेठ । समाजमा विद्यमान छुवाछूत प्रथा अझै पनि अन्त्य हुन नसकेको दाङमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
नेपाल राष्ट्रिय दलित सञ्जाल राप्ती गाउँपालिका दाङको आयोजना एवम् राप्ती गाउँपालिकाको सहयोगमा दाङको राप्ती गाउँपालिका-५ सिसहनियामा आयोजित जनचेतनामुलक कार्यक्रम तथा छुवाछूत विभेद रहित समाज निर्माण अभियान कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरा बताएका हुन् । कार्यक्रम बोल्ने वक्ताहरूले छुवाछूत प्रथा केही हद सम्म कम भएपछि बाहुन क्षेत्र समुदायका पुराना पिढीमा अझै पनि जातीय छुवाछूत यथावत रहेको बताएका थिए । वक्ताहरूले छुवाछूत प्रथा अन्त्यका लागि अब व्यक्ति तथा घरपरिवारबाट सुरू गर्न आवश्यक रहेको बताएका थिए । साथै वक्ताहरूले दलित समुदाय सँगै बाहुन, क्षेत्रीलाई सँगै राखेर जनचेतनामूलक कार्यक्रम गर्न पनि आवश्यक रहेको सुझाव दिएका थिए ।
सञ्जालका अध्यक्ष ठगेन्द्र परियारको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम  दलित मुक्ति मोर्चाका विक्रम कटवाल, जिल्ला समन्वय समितिका दाङका सदस्य रणप्रसाद सुवेदी, पत्रकारहरू सन्तोष कुमार गुप्ता, ओमप्रकाश गुप्ता र समाजसेवी तथा बुद्धिजीवी रमेश पन्थी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  सञ्जालका कोषाध्यक्ष प्रेम तिवारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव रामकिसन दमाईले गरेका थिए । साथै कार्यक्रममा दलित विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री समेत प्रदान गरिएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे