LISTEN LIVE RADIO

घण्टदेब सामुदायिक वनको निर्वाचनमा काँग्रेस विभाजन, अध्यक्षमा भुसाल र पाण्डे चुनावी मैदानमा



घण्टदेब सामुदायिक वनको निर्वाचनमा काँग्रेस विभाजन, अध्यक्षमा भुसाल र पाण्डे चुनावी मैदानमा

भालुवाङ ८ फागुन । दाङ—देउखुरीको राप्ती गाउँपालिका—३, मसुरिया स्थित घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि यही फागुन १४ गते सोमबार निर्वाचन हुने भएको छ । गत फागुन ५ गते शनिबार भएको १७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा नयाँ नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचनमा हुन लागेको हो ।

वन समूहको नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेतादोय हरिप्रसाद भुसाल र दुर्योधन पाण्डेले आ—आफ्नो अडान नछोडेपछि निर्वाचन हुन लागेको बताइएको छ । सभाको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसकेपछि वन समूहको विधान अनुसार राप्ती गाउँपालिका वार्ड नम्बर ३ की वडा सदस्य चम्फा भुसालको संयोजकत्वमा निर्वाचन उप—समिती गठन गरेको छ । जसको सदस्यहरुमा सव—डिभिजन वन कार्यालय राप्तीका प्रमुख विनोदकुमार शाह, नर्ती समन्वय समितीका प्रतिनिधि ओमप्रकाश बिक, शान्ति सावउसका प्रतिनिधि जिवराज वली र उपभोक्ता लक्ष्मण आचार्य रहेका छन् ।

निर्वाचन तालिका अनुसार फागुन ९ गते बुधबार दिउँसो १ बजेदेखि ३ बजे सम्म उम्मेदवारी दर्ता गर्ने, ११ गते दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १४ गते मतदान गर्ने गरी निर्वाचन तालिका प्रकाशन गरिएको निर्वाचन उप—समितीका संयोजक चम्फा भुसालले जानकारी दिइन् ।

यता वन समूहको नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसमा चरम बिबाद देखिएको छ । काँग्रेसबाटै अध्यक्ष पदमा हरिप्रसाद भुसाल र दुर्योधन पाण्डेले उम्मेदवारी दिने तयारी गरे संगै पार्टी भित्रको बिबाद थप उत्कर्षमा पुगेको छ । अध्यक्ष पदमै पार्टीका अगुवा नेताहरुले उम्मेदवारी दिने तयारी गरे संगै काँग्रेस दुई धारमा विभाजन भएको प्रष्ट देखिन्छ । भुसाल र पाण्डे छुट्टाछुट्टै प्यानल नै बनाएर चुनावी मैदानमा जाने तयारी समेत गरिसकेका छन् ।

भुसाल नेतृत्वको प्यानललाई नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ भने पाण्डे नेतृत्वको प्यानललाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युष्टि पार्टी (बिप्लब समूह) को समर्थन रहेको छ । यी दुई प्यानलले अध्यक्ष बाहेक अन्य पदका उम्मेदवार भने यो समाचार तयार पार्दा सम्म सार्वजनिक गरेका छैनन् । भुसाल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् भने पाण्डे काँग्रेसका लुम्बिनी प्रदेश समिती सदस्य हुन् ।

यता वन समूहको नयाँ नेतृत्व चयनका लागि काँग्रेस भित्रै बिबाद देखिएपछि निर्वाचन जाने गरी काँग्रेस आफै किन बिभाजनमा देखियो भन्ने बिषयमा नेपाली काँग्रेस राप्ती गाउँपालिका समितीका सभापति विद्यासरण चौधरीलाई बुझ्दा उनले यो बिबाद आउन नदिनका लागि लागि पार्टीबाट पहल गरिएपनि सहमति गराउन नसिएको स्वीकार गरे । वन समूहको अध्यक्ष पद मै हाम्रो काँग्रेसबाटै दुई जना आँकाक्षी देखिएपछि एक जनालाई फिर्ता गराएर एक जनाको नाम मात्र सिफारिस गर्न खोजे पनि दुई जनाले नै आ—आफ्नो अडान नछोडेपछि यस्तो स्थिती पैदा भएको हो, सभापति चौधरीले भने ।

हामीले अन्तिम समय सम्म पनि दुई जनालाई पार्टी कार्यालय मै बोलाएर छलफल गर्‍यौँ तर उहाँहरुले सहमति गर्न तयार हुनु भएन, त्यसपछि हामीले उहाँहरुलाई छोडिदिर्यौँ सभापति चौधरीले भने । उनले हरिप्रसाद भुसाल र दुर्योधन पाण्डे दुई जना नै काँग्रेसको आधिकारिक उम्मेदवार नरहेको समेत प्रष्ट पारे ।

काँग्रेस समर्थित उपभोक्ताले कसलाई मतदान गर्ने त ? भन्ने हाम्रो प्रशनको जवाफमा सभापति चौधरीले आफूलाई इच्छा लागेको जुनसुकै उम्मेदवारलाई मतदान गर्न उपभोक्ताहरुलाई पूणर् अधिकार रहेको बताए । उनले हामीले फलानो उम्मेदवारलाई मतदान गर्नु पर्छ भनेर कसैलाई समर्थन गरेको अवस्था छैन, त्यसैले मतदाताहरुले स्वइच्छाले मतदान गर्न आग्रह गर्दछौँ, सभापति चौधरीले भने । उक्त सामुदायिक वन समूहमा कुल १ हजार १ सय ७७ घरधुरी उपभोक्ता मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे