LISTEN LIVE RADIO

साइबर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : सञ्चार मन्त्री शर्मा



साइबर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : सञ्चार मन्त्री शर्मा

भालुवाङ १८ मंसिर । पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि पत्रकारितामा प्रविधिको प्रयोग तथा आचारसंहिता विषयक ३ दिने तालिम सुरू भएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबार देखि लुम्बिनी प्रदेशको राजधानी सितगंगा नगरपालिका वडा नम्बर ८ सातमारा स्थित होटल इभरल्याण्डमा तालिम सुरू भएको हो । प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीको अध्यक्षता एवम् नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा तालिम सुरू भएको हो ।

तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिमा भएको तिब्र विकासले साईवर अपराधहरु बढाएको भन्दै त्यसबाट महिला हिंसा बढ्नु चिन्ताजनक बिषय रहेकाले साईवर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन् । महिला हिंसाको स्वरुप बदलिएको भन्दै ईन्टरनेटको माध्यमबाट हुने हिंसा न्यूनिकरण गर्न पत्रकार महिलाहरुले समेत भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको, भ्रमपूर्ण सूचनाको खेती भइरहेको भन्दै यसबाट जोगिन सञ्चार साक्षरताको लागी सरकारले कार्यक्रम बनाउने बताइन् । त्यस्तै मन्त्री शर्माले महिलाको सहभागीता हरेक क्षेत्रमा ३३ प्रतिशत पु¥याउने तर्फ ध्यान दिनुपर्ने बताएकी छिन् । उनले राज्यले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित गरेपनि राजनीतिक दलको संगठन, पत्रकार संग सम्वन्धित सञ्चार माध्यमहरुमा समेत महिला सहभागीता न्यून रहेको भन्दै महिला सहभागीता बढाउन जोड दिएकी छिन् ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले निर्धक्क भएर कलम चलाउन पत्रकार महिलाहरुलाई आग्रह गरेका छन् । तालिम उद्घाटन कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य ठाकुर वेल्वासे, कार्यक्रममा सञ्चारीका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य लगायतका वक्ताहरुले सम्वोधन गरेका थिए । तालिम संयोजक तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको स्वागत तथा विषयवस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले गरेका थिए ।

तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका २० जना पत्रकार महिलाहरुको सहभागीता रहेको छ । तालिम ३ दिन सम्म चल्ने छ । तालिमको प्रशिक्षकहरुमा दुर्गा भण्डारी पौडेल, विपुल पोख्रेल, ठाकुर बेल्वासे, दुर्गालाल केसी, अमृता अनमोल र झविन्द्र भुसाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे