राजधानीस्थल राप्ती उपत्यकाकाे राेक्का जग्गा फुकुवाको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा



राजधानीस्थल राप्ती उपत्यकाकाे राेक्का जग्गा फुकुवाको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा

भालुवाङ १६ भदौ । लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनको नाममा लामो समयदेखि आम नागरिकको जग्गा रोक्का हुँदा दैनिक जीवनमा मर्का परेको भन्दै जग्गा फुकुवाको माग राख्दै दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेश जग्गा फुकुवा संघर्ष समितिले आज शनिबार राप्ती गाउँपालिकाको सभाहल मसुरिया मा पत्रकार सम्मेलनको गरी चरणबद्ध आन्दाेलन अन्तर्गत दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । संघर्ष समितिका संयोजक तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्काले आन्दोलनको घोषणा गर्दै संघर्षको कार्यक्रम सार्वजनिक गरे ।

दोस्रो चरणको पहिलो दिन पत्रकार सम्मेलन गरिएको छ । यही भदौ १७ गते गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने, १८ गते मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बस्ने, १९ गते मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गर्ने, २० गते राजधानी क्षेत्र भित्र मसालजुलुस गर्ने, २१ गते राजधानी क्षेत्र भित्रका सरकारी कार्यालय र सरकारी गाडी सञ्चालनमा रोक लगाउने संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।

संघर्ष समितिका सह-संयोजक शंकर गौतमले बाध्य भएर दोस्रो चरणको आन्दोलन घोषणा गर्नु परेको बताए । सरकारले झुलाउने मात्रै काम गरेको भन्दै उनले यस अघि चलेको संघर्षको क्रममा गरिएको प्रतिबद्धता सरकारले पुरा नगरेको भन्दै दोस्रो चरणको संघर्षमा जानुपर्ने अवस्था आएको बताए ।

“जग्गा रोक्का भएको ३ वर्ष बित्नै लाग्दा पनि फुकुवा नभएपछि दबाव दिन यसअघि हामी अनशन सबेका हौं”, संघर्ष समितिका सहसंयोजक गौतमले भने, “रहर होईन अनेक समस्याले गर्दा घर व्यवहार, कारोबार थेग्न नसक्ने भएपछि सडकमा आउन बाध्य भएका हौँ ।”

उनले लामो समयदेखि रोक्का गरिएको जग्गा फुकुवा नहुँदा आर्थिक कारोबार सबै ठप्प भएको बताए । “जग्गा रोक्का हुँदा अंशबन्डा, किनबेच र बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण पाएका छैनौं” सहसंयोजक गौतमले भने, “सबै आर्थिक कारोबार ठप्प भएको छ । यसले उद्योग, व्यापार सञ्चालनमा समस्या भइरहेको छ ।”

संघर्ष समितिका अर्का सह-संयोजक तथा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले राजधानी व्यवस्थापनलाई सहयोग गर्न आन्दोलन गरिएको जानकारी दिए । सरकारले जग्गा विकास कार्यक्रमलाई छिटो अघि नबढाउँदा समस्या परेको उनले बताए । तीन वर्षको अवधिमा ज्यादै न्यून प्रगती भएको भन्दै यो अवधिमा काम सकिनुपर्ने तर, सरकारकै कारण ढिलो भएको तर्क उनको छ ।

गत बैशाखमा लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा रोक्का गरिएको जग्गा फुकुवाको माग गर्दै स्थानीयले रिले अनशन गरेका थिए । राजधानी व्यवस्थापन गर्ने भन्दै महिनौदेखि रोकिएको जग्गा फुकुवा गर्न माग राख्दै स्थानीयले लुम्बिनी प्रदेश सरकारको मुख्य प्रशासनिक भवनको मूलगेटमा रिले अनशन दिएका थिए ।

देउखुरीमा राजधानी घोषणा हुनुअघि रोक्का जग्गा साढे दुई वर्षसम्म फुक्का नगरेपछि सो क्षेत्रका जग्गाधनी, उद्योगी व्यवसायी, किसान, मजदुरले दबाव सिर्जना गर्न रिले अनशन बसे पनि निकास निस्कन सकेन ।

२०७७ असोज १६ गते तत्कालीन प्रदेश सरकारले जग्गा रोक्का गर्ने निर्णय गरेको हो । हालसम्म पनि जग्गा फुकुवा नहुँदा निकै समस्या भईरहेको स्थानीयकाको भनाइ छ ।

राजधानी क्षेत्रका तीन स्थानीय तहका १४ वटा वडाभित्र पर्ने जग्गाको कित्ताकाटसहित किनबेच रोक लगाइएको थियो । दाङको राप्ती गाउँपालिकाको ९ वटा वडा, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३, अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ८ र ९ को जग्गा किनबेचमा प्रदेश सरकारले रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे