राजधानीस्थलको रोक्का जग्गा भदौ १५ गते भित्र फुकुवा नभए संघर्षमा उत्रिने चेतावनी



भालुवाङ ११ भदौ । लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यकाको रोक्का जग्गा भदौ १५ गते भित्र फुकुवा नभए संघर्ष समितीले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । संघर्ष समितीले आज सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका कानुन तथा संबैधानिक मामिला सचिव राजेन्द्र थापालाई ज्ञापन-पत्र बुझाउँदै अगामी भदौ १५ गते सम्म जग्गा फुकुवा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

जग्गा फुकुवा संघर्ष समितीका संयोजक सुरज खड्का नेतृत्वको टोलीले कानुन तथा संबैधानिक मामिला सचिव राजेन्द्र थापालाई उक्त ज्ञापन-पत्र बुझाएको हो । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विगत तीन वर्ष देखि रोक्का रहेको जग्गा फुकुवा गर्न मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुले भाखा तोक्ने तर काम नगर्ने परिपाटीले जनताहरु आजित भइसकेको भन्दै चरणबद्ध आन्दोलनमा जानुको बिकल्प नरेहको संघर्ष समितीले जनाएको छ ।

केहीदिन अघि जग्गा फुकुवा संघर्ष समितिका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा बसेको भेलाले पहिलो र दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक समेत गरेको थियो । सोही अनुसार पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापन—पत्र बुझाउने कार्यतालिका रहेको थियो । तर मुख्यमन्त्री चौधरी कामको शिलशिलामा काठमाडौँ गएको र मुख्यसचिव समेत बिदामा रहेकोले कानुन तथा संबैधानिक मामिला सचिव राजेन्द्र थापालाई उक्त ज्ञापन-पत्र बुझाइएको संघर्ष समितीका संयोजक तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए ।

संघर्ष समितीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत भदौ ११ गते मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ध्यानाकर्षण गराउने, १२ गते संसदिय दलका नेताहरुलाई ध्यानाकर्षण गराउने, १३ गते यस क्षेत्रका संसदहरु सँग अन्तरक्रिया कार्यक्रम गर्ने तय गरेको छ । त्यसैगरी १४ गते स्थानिय जनप्रतिनिधि, प्रदेश सांसदहरु सँग अन्तरक्रिया गर्ने संघर्ष समितीले जनाएको छ ।

त्यसैगरीे दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत भदौ १६ गते पत्रकार सम्मेलन, १७ गते पालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने, १८ र १९ गते मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी धर्ना तथा प्रर्दशन गर्ने, २० गते राजधानी क्षेत्र भित्र मसाल जुलुस प्रदर्शन गर्ने, २१ गते राजधानी क्षेत्र भित्रका सरकारी कार्यालयका गाडी बन्द गर्ने संघर्ष समितीका संयोजक खड्काले बताए ।

जग्गा फुकुवा संघर्ष समितीका संयोजक सुरज खड्का नेतृत्वको गएको टोलीमा सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूणर्बहादुर बुढाथोकी, नेपाली काँग्रेस राप्तीका सभापति विद्यासरण चौधरी, नेकपा माओवादी केन्द्र राप्तीका अध्यक्ष तथा राप्ती उवासंघका महासचिव नारायण शर्मा, संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, राष्ट्रिय जनमोर्चा राप्तीका अध्यक्ष ठाकुरप्रसाद आचार्य र नेपाली पार्टीका टंकबहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो ।

तत्कालिन प्रदेश सरकारले २०७७ असोज १६ गते राप्ती गाउापालिकाको पुरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का राख्ने निणर्य गरेको थियो । २०७७ असोज २० गते तत्कालिन प्रदेश नम्बर ५ को राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने र नाम लुम्बिनी राख्ने निणर्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे