दुई मन्त्रालय थपेर सरकारलाई पूर्णता दिन्छौः गृहमन्त्री पाण्डे



दुई मन्त्रालय थपेर सरकारलाई पूर्णता दिन्छौः गृहमन्त्री पाण्डे

देउखुरी २० साउन । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले दुईवटा मन्त्रालय थपेर साउन महिनाभित्र सरकारलाई पूर्णता दिने बताएका छन् । पहिलेको सहमति अनुसार कांग्रेसका ३ र माओवादी केन्द्रका २ मन्त्री बनाउने तयारी रहेको उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित हाल १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हालिरहेका छन् ।

दुई वटा मन्त्रालय थपेपछि अब लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय हुनेछन् । अहिले मुख्यमन्त्रीसहित ७ वटा मन्त्री छन् । प्रदेशमा हाल ३ वटा मन्त्रालय खाली छन् ।

‘पहिलेको सरकार जोड संख्या भएर छिटो ढल्यो,’ मन्त्री पाण्डेले सञ्चारकर्मीहरुसँग भने, ‘मन्त्रालय फुटाएर होइन, बिजोड संख्याको बनाएर दिगो सरकार बनाउँछौं । गठबन्धनबीच कतै विवाद छैन, कांग्रेसले तीन र माओवादीले दुई मन्त्रालय पाउने पहिल्यकै भागबण्डा हो ।’

पाण्डेले काम गर्न मिल्ने गरी मन्त्रालय व्यवस्थापन गरेर मन्त्री थपिने बताए । नयाँ दुईवटा मन्त्रालय बनाउन उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालयबाट दुइटा नयाँ मन्त्रालय सृजना गराउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो ।

सरकारले पूर्णता पाउने भएपछि मन्त्रीका आकांक्षीहरु धेरै रहेका छन् । कांग्रेसबाट दलबहादुर राना, विश्वप्रेम पाठक, भुवनेश्वर चौधरी, धनेन्द्र कार्की लगायत मन्त्रीको लाइनमा छन् । माओवादी संसदीय दलले कृष्णा केसी र दीपेन्द्र पुनलाई मन्त्रीको रुपमा नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे