LISTEN LIVE RADIO

पत्रकार महासंघ रुपन्देहीको सदस्यता विवाद : पुनरावलोकन गर्न भन्दै प्रदेशले पठायो फिर्ता



पत्रकार महासंघ रुपन्देहीको सदस्यता विवाद : पुनरावलोकन गर्न भन्दै प्रदेशले पठायो फिर्ता

बुटवल १९ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीको नयाँ सदस्यता वितरणमा विवाद देखिएपछि महासंघको लुम्बिनी प्रदेश समितिले पुनरावलोकनका लागि फिर्ता पठाएको छ ।

महासंघ रुपन्देहीले केही दिनअघि नयाँ सदस्यताको निर्णय गर्दै ३२ जनाको नाम प्रदेश समितिमा सिफारिश गरेको थियो । त्यसको पाँच दिनपछि प्रदेशले पुनरावलोकन गर्न भन्दै फिर्ता पठाएको हो ।

सदस्यता सिफारिशप्रति असहमति जनाउँदै प्रेस चौतारी नेपाल रुपन्देहीले साउन १४ गते महासंघ रुपन्देहीको कार्यालयमा तालाबन्दी गरेको छ । उसले सदयता शुद्धिकरण मापदण्डविपरित नयाँ सदस्यता सिफारिश गरिएको, राजनीतिक पूर्वाग्रहका आधारमा महासंघले निर्णय गरेको भन्दै यसमा पुनर्विचार नभए ताला नखोल्ने अडान लिएको छ । अन्य संगठनहरुले समेत सदस्यता वितरणमा असहमति जनाएका छन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले विवाद आएपछि पुनर्विचारका लागि रुपन्देहीमै फिर्ता पठाएको बताए । “पुनर्विचार नगरी फिर्ता पठाएमा प्रदेश समितिले निर्मम समीक्षा गर्ने छ”–उनले भने ।

महासंघको प्रदेश समितिले बाँके, बर्दिया लगायतका जिल्लाको पनि सदस्यता वितरणमा विवाद देखिएपछि फिर्ता पठाएको थियो । रुपन्देहीमा भने प्रेस चौतारीले शुद्धिकरणदेखि नै असहमति राख्दै आएको थियो । चौतारीले शुद्धिकरणका लागि एउटै प्रकृतिका व्यक्तिलाई समेत फरक फरक मापदण्ड अपनाइएको आरोप लगाउँदै यसमा पनि पुनर्विचार हुनुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे