LISTEN LIVE RADIO

प्रदेश राजधानी राप्ती उपत्यकालाई व्यवस्थित र जोखिम युक्त राजधानी निर्माणमा सम्झौता



भालुवाङ ३० वैशाख । लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकालाई व्यवस्थित नयाँ सहर र जोखिम मुक्त प्रदेश राजधानी निर्माण गर्ने उद्देश्यले टुमारो सिटि संस्था र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच लिखित सम्झौता भएको छ ।

राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती गाउँपालिका, गढवा गाउँपालिका, अर्घाखाँचीको सितगंगा नगरपालिका पर्दछन् । अनुसन्धान टोलीको तर्फबाट परियोजनाका प्रतिनिधि विदेशी प्रोफेसर जोन म्याक्लोस्की र पालिका तथा नगरपालिकाको तर्फबाट राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यम नारायण पोख्रेल र सितगंगा नगरपालिकाका नगर प्रमुख छविराज पौडेल र प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

सम्झौता गरे लगत्तै उक्त क्षेत्रमा अवस्था पहिचान अध्ययन कार्य सुरु भएको छ । अब ६ महिनाको अध्ययन पश्चात प्रतिवेदन तयार पारी निर्माण कार्य पनि सुरु हुने प्राधिकरणका प्रमुख पोख्रेलले बताए ।

उक्त अनुसन्धान कार्यक्रमलाई सम्बोधन गर्दै सोही क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री ईन्द्रजीत थारुले प्रदेश राजधानी निर्माण गर्न अहिलेको पुस्ता जिम्मेवार भएर लाग्नु पर्ने बताए । “भविष्यको पुस्ताको लागि अहिले निर्माण भएको पूर्वाधार धरापमा परिणत नहोस् यो हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो”–उनले भने ।

राप्ती उपत्यकालाई व्यवस्थित रुपले विकास गर्ने क्रममा भविष्यमा आई पर्न सक्ने प्रकोपहरु र विपदबाट सुरक्षित हुने गरी विकास गर्न शहरीकरण भईरहेको क्षेत्रमा जोखिम न्यूनीकरण गर्ने, शहरको बहुजोखिम परिदृश्यहरुको वैज्ञानिक ढङ्गले अध्ययन, विश्लेषण गरेर त्यस बमोजिम योजना तय गर्ने तथा शहरमा आर्थिक रुपमा विपन्न समुदायको जोखिम न्यूनीकरण गर्ने, सामाजिक सद्भाव कायम गर्ने, वातावरणमैत्री शहर निर्माण गर्ने र कृषिलाई वैज्ञानिकीकरण गर्ने र प्रविधिमैत्री शहर निर्माणका लागि यी विषयमा केन्द्रित रही सम्झौता गरिएको मन्त्री ईन्द्रजीत थारुले बताए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाका जनप्रतिनिधि, परियोजनाका विज्ञ सदस्यहरू, सरोकारवालाहरुको प्रतिनिधिमुलक उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे