LISTEN LIVE RADIO

विश्वासको प्रस्ताव दर्ता ढिलाईका कारण मुख्यमन्त्री चौधरीले वैशाख १९ गते विश्वासको मत लिने



विश्वासको प्रस्ताव दर्ता ढिलाईका कारण मुख्यमन्त्री चौधरीले वैशाख १९ गते विश्वासको मत लिने

भालुवाङ १७ वैशाख । लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १९ गते विश्वासको मत लिने भएका छन् ।प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशन बमोजिबम प्रदेश सभाको बैठक मंगलवार बिहान ११ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सोही दिन नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने छन् ।

शुक्रबार पदभार ग्रहणपछि देउखुरीमा बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने निर्णय गरेको थियो । तर प्रदेश सभा सचिवालयमा आइतबार बिहान मात्रै विश्वासको प्रस्ताव दर्ता भएकाले मंगलवार बैठक आह्वान गरिएको प्रदेश सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।

‘विश्वासको प्रस्तावका लागि मुख्यमन्त्रीले ४८ घण्टा अगाडी नै सचिवालयमा सूचना दिनुपर्ने व्यवस्था छ’ प्रदेश सभाका सचिव पुनले भने, ‘तर आइतवार बिहान १० बजेमात्रै सचिवालयमा विश्वासको प्रस्ताव दर्ता हुन आयो । यो हिसाबले ४८ घण्टा गणना गर्दा मंगलवार हुन गयो ।’ सचिवालयमा विश्वासको प्रस्ताव दर्तामा ढिलाई भएकाले बैठक मंगलवार तय गरिएको उनले बताए ।

५३ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका चौधरी बिहिवारमात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीसँगै माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विना विभागीय मन्त्री बनेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक प्रदेशसभा सदस्‍य गरी ५३ प्रदेशसभा सदस्‍यको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे