LISTEN LIVE RADIO

कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किए



काठमाण्डाै १७ वैशाख । ग्यास चुहावटका कारण भएको आगलागीमा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन् ।

उनले आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । ३ फागुन २०७९ मा घरमै भएको आगलागीमा परी भण्डारीकी आमाको भने निधन भएको थियो । आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माण तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सके आमाका लागि श्रद्धाञ्जली हुने सांसद भण्डारीले बताएका छन् ।

उनले अब नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने घोषणा पनि गरेका छन् । ‘त्यसैले मेरो अभियान हुनेछ, कुनै नेपालीले आगोमा जल्नुनपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’ भण्डारीले स्वदेश फर्केपछि जारी गरेको प्रेस नोटमा भनेका छन् ।

विदेशमा उपचार गर्न जाने आफ्नो चाहना नभएको तर चिकित्सकहरुले यहाँ सम्भव नहुने देखेर भारत लैजान सिफारिस गरेको भन्दै भण्डारीले आगामी दिनमा आगलागीमा परेका नेपालीको उपचार गर्न सक्ने पूर्वाधार र जनशक्ति नेपालमै तयार गर्नुपर्ने बताए । ‘म नेपाल सरकारलाई त्यो पूर्वाधारसहितको सातैवटा प्रदेशमा कमसेकम एक एक वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेट व्यवस्थ ागर्न आग्रह गर्न चाहन्छु’ भण्डारीले भनेका छन् । संघीय सांसदका रुपमा आफ्नो कार्यकालमा आगलागीबाट हुने मृत्युदरलाई आधाले कम गर्ने लक्ष्य लिएर अभियानको नेतृत्व गर्ने भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे