यथाशिघ्र जग्गा फुकुवा नभए वैशाख १७ गते देखि चरणवद्ध रुपमा आन्दोलन हुने



भालुवाङ १० वैशाख । उद्योग व्यापार संघ राप्ती दाङले लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको रोक्का जग्गा यथाशिघ्र फुकुवा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

लामो समय देखि प्रदेश राजधानी तोकिएको क्षेत्र राप्ती गाउँपालिकाको ९ वटै वडा, गढवाको १, २ र ३ तथा सितगंगा नगरपालिकाको ८ र ९ नम्बर वडामा जग्गा रोक्का हुँदा पारिवारिक रुपमा अंशबन्डा, बैंकिङ कारोवार, औषधी उपचार गर्न, उच्च शिक्षा अध्ययन, बिवाह, ब्रतबन्ध जस्ता पारिवारिक संस्कार समेत रोकिन गएको र आत्माहत्या समेत गर्न सक्ने अवस्था सिर्जना भएकोले प्रदेश सरकारलाई यथाशिघ्र रोक्का जग्गा फुकुवा गर्न संघले माग गरेको छ ।

संघका अध्यक्ष गञ्जबहादुर विष्टको नेतृत्वमा आइतवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र सभामुख तुलाराम घर्तीलाइ ज्ञापन पत्र बुझाउँदै अध्यक्ष विष्टले सो चेतावनी दिएका हुन् । यदि वैशाख १६ गते सम्म जग्गा फुकुवा नभए वैशाख १७ गते देखि विभिन्न संघ संस्था, राजनैतिक दल, नागरिक समाज, उद्योगी व्यापारी, किसान तथा सम्पुर्ण पिडित सु्दायद्धारा चरणबद्ध तरिकाले शान्तिपुर्ण आन्दोलन गर्ने बताएका छन् ।

२०७७ असोज १६ गते तत्कालिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बुटवलले जग्गा रोक्का राख्ने सम्बन्धमा भनि मालपोत कार्यालय लमही, दाङ्ग र अर्घाखाँचीको नाममा पत्र पठाएको थियो । त्यही पत्रका आधारमा ती क्षेत्रका जग्गा रोक्का भएका हुन् । लामो समय देखि जग्गा रोक्का हुँदा स्थानीयबासीहरुले पटक पटक मौखिक तथा लिखित निबेदनहरु समेत पेश गरेको भए पनि अहिले सम्म माग सुनुवाई नभएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे