नागरिककाे सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : केसी



नागरिककाे सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : केसी

घोराही १४ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले उपमहानगरमा नागरिक सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम भई रहेको बताएका छन् ।

उनले सरकारी सेवामा नागरिकको प्रत्यक्ष सहभागिता हुनु पर्ने बताउँदै गुनासोरहित सेवा कसरी बनाउन सकिन्छ भनेर निरन्तर चासो व्यक्त गरिएको जानकारी गराएका छन् । घोराही उपमहानगर पालिकाको चालु आर्थिक वर्ष २०७७।०७८ को पहिलो चौमासिकको कार्य प्रगति तथा सार्वजनिक सेवा प्रवाहका बारेमा आइतबार गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले कामको पारदर्शिता कायम गर्ने सवालमा आर्थिक अनियमितता रोक्न, सेवा थप चुस्त बनाउन र कामलाई थप स्तरिय बनाउन सबै जनप्रतिनिधि र कर्मचारी जिम्मेवार भएर लाग्न पनि निर्देशन दिएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकबाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै उनले सेवा प्रवाहमा नागरिकको चासो गुनासो कार्यालय प्रमुखसम्म कसरी स्थापित गराउनु नै चुनौति रहेको बताउँदै २०७४ देखि गुनासो सुन्न उपमहानगरले राखेको टोल फ्रि नम्बरबाट अहिलेसम्म कसैले पनि गुनासो, जिज्ञासा तथा सुझाव केही नदिएको बताए । सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उपमहानगरको सबल पक्ष, सुधारका पक्ष र देखिएका चुनौतिलाई आगामि दिनमा थप ध्यान दिएर अघि बढ्ने कार्यक्रममा सहभागी सबैसँग उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा उपमहानगरमा वितेको ४ महिनामा भएका कामको विवरण सुचना अधिकारी भिमबहादुर चौधरीले प्रस्तुत गरेका थिए । उनका अनुसार उपमहानगरमा हाल कर्मचारीको २८५ दरबन्दी रहेको र ४०४ जना कार्यरत रहेको उनले जनाए । वितेको ४ महिनामा पुर्वाधारतर्फ १७७ वटा आयोजनामा ११८ वटा सम्झौता भएको बताए । ससर्त तर्फका १४ वटा कार्यक्रम र समपुरक तर्फका ४ वटा कार्यक्रम टेण्डर प्रकृयामा गएको उनको भनाई थियो ।

संघीय सरकारको पूँजीगत र चालु तर्फ गरी ४ महिनाको अवधिमा २३.६८ प्रतिशत खर्च भएको उनको भनाई थियो । यस्तै, चालु आर्थिक वर्षमा कुल २५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको उपमहानगरमा ४ महिनाको अवधिमा विभिन्न शीर्षकबाट ४ करोड ९८ लाख ३५ हजार ८२ रुपैया राजस्व संकलन भएको जनाए ।

घोराही उपमहानगरपालिकाको आयोजना तथा ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरणमा भएको कार्यक्रममा केन्द्रले नागरिक प्रतिवेदन तथा सेवा प्रवाहका विषयमा नागरिकको अभिमत पनि प्रस्तुत गरेको थियो । सो अवसरमा उपप्रमुख न्यौपानेले स्थानिय सरकार नागरिकको सेवामा सदैव साथमा रहेको बताउँदै कुनै पनि समस्या भएमा समाधान गर्ने वचन दिएकी थिईन् ।

उनले सुशासन र पारदर्शीताका विषयमा उपमहानगर र जनप्रतिनिधि अत्यन्तै गम्भीरताका साथ खटिएकाले कुनै समस्या भए तत्काल समाधान गर्ने गरी अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरिन् । वडा कार्यालय, विभिन्न शाखा, महाशाखामार्फत भई रहेका कामलाई थप स्तरीय र प्रभावकारी बनाउने सन्दर्भमा सबै खालका प्रयास जारी रहेको उनको भनाई थियो ।

सो अवसरमा थारु कल्याण कारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, मानव अधिकार निगरानीका प्रकाशचन्द्र घिमिरे, साझेदारी परियोजनाका यादव चौधरीलगायतले सुझाव तथा जिज्ञासा राखेका थिए । स्वागत सिनियर ईन्जिनियर युवराज पौडेलको स्वागत मन्तव्यबाटशुरु भएको कार्यक्रममा नागरिक प्रतिवेदन ग्रामीण महिला उत्थानकी रजनी श्रेष्ठले प्रस्तुत गरेकी थिईन् भने कार्यक्रमको सहजीकरण केन्द्रका नवीन चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे