गढवामा कृषि प्रबर्धनका लागि कृषि बिधेयक ल्याइदै



गढवामा कृषि प्रबर्धनका लागि कृषि बिधेयक ल्याइदै

शिबराज पन्थी, गढवा ११ मंसिर ।

गढवा गाउँपालिकामा कृषि प्रबर्धन र किसानहरुलाई सशक्तिकरण गर्ने उद्देश्य अनुरुप कृषि बिधेयक तयार गर्न थालिएको छ । सामुदायिक आत्मनिर्भर सेवा केन्द्र काठमाडौ संगको समन्वय सहकार्य र सहजीकरणमा सो बिधेयक तयार गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् ।

यसै बीच गाउँपालिकाभरमा रहेका साना, मझौला, भूमिहिन लगायत गरिब किसानहरुको हकहित र अधिकारको समेत प्रत्याभूत हुने गरि बिभिन्न बिषयहरु समेटेर आत्मनिर्भर सेवा केन्द्रद्धारा तयार गरिएको कृषि बिधेयकको मस्यौदा माथी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा प्रमुख र कृषि शाखाको रोहबरमा बिहिवार बिस्तृत छलफल गरि मस्यौदाको अन्तिम रुप दिइएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्र काठमाडौका कल्पना कार्कीले जानकारी दिएकी छिन् ।

बिधेयकमा गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा १० सदस्यीय समिती रहेको र सो समितिले प्रदेश र केन्द्रको कानून संग नबाझ्ने गरि भू–उपयोग नीति, भूमिको बर्गीकरण, कृषियोग्य जमिन बाँझो रहन नदिने ब्यवस्था, किसानहरुलाई करार खेती सुबिधाको ब्यवस्था, सार्वजनिक र ऐलानी जग्गाको संरक्षण, कृषि योग्य जग्गाको उपयोग, सिंचाइको पहुँच बृद्धि तथा कृषि उत्पादनको बर्गीकरण र ब्यवसायिकरण लगायतका बिषयहरु बिधेयकमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।

बिधेयकमा किसानहरुका लागि मलखाद, बिऊबिजन र किटनासक औषधीको सहज आपुर्ती, कृषि तथा पशुपंक्षी बिमाको बयवस्था, बगर तरकारी खेती, रेशम खेती, केरा खेतीबाट धागो उत्पादन एवं भण्डारण, बजारीकरण र सितगृह ब्यवस्थापनको समेत बिधेयकमा ब्यवस्था गरिएको छ । सो मस्यौदालाई कार्यपालिकामा प्रस्तुत गरि हिउँदे अधिबेशनबाट पारित गरेर कार्यान्वयन चरणमा लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् । मस्यौदा माथी छलफलको सहजीकरण भूमी अधिकारकर्मी रेवन्त चौधरी र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कल्पना कार्कीले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे