LISTEN LIVE RADIO

नामसालिङ सामुदायिक विकास केन्द्रद्धारा राप्तीमा सञ्चालित परियोजना क्षेत्रको अनुगमन



भालुवाङ १६ माघ । नामसालिङ सामुदायिक विकास केन्द्र इलामको दाङ स्थित परियोजना क्षेत्रको अनुगमन गरिएको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना (फेज २) अन्तर्गतका कार्यक्रमहरुको विकास कोष नर्वे, नामसालिङ सामुदायिक विकास केन्द्र तथा लिवर्ड संस्थाका प्रतिनिधिको संयुक्त टोलीले नामसालिङद्वारा राप्ती गाउँपालिका क्षेत्रमा संचालित परियोजनाको अनुगमन गरेकाे हाे ।

जस अनुसार जलवायु अनुकूलित गाउँ कार्यक्रम अन्तर्गत समुदायलाई सौर्य पम्पमा आधारित सिंचाई तथा खाने पानी, विभिन्न ऊर्जा, श्रम तथा खाद्य तत्व मैत्री कृषि प्रविधि, ऊर्जा तथा श्रम मैत्री सिंचाई, प्लास्टिक घर खेती प्रविधि, बायो ग्यास चुलो, सुधारिएको धुवाँ रहित चुलो, साना कृषि यन्त्र लगायतक कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो।

अनुगमन कार्यक्रममा विकास कोष नर्वेकी नेपाल स्थित कर्यक्रम संयोजक गिडा प्रेष्टविक, कृषि सल्लाहकार याकोब वाला, नासाबिकेका टीम लिडर हीरा बहादुर घले, नासाविकेका परियोजना संयोजक सुबोध निरौला, लीवर्ड संस्थाका पिताम्बर श्रेष्ठ, नासाविके दाङका कार्यक्रम संयोजक शशाङ्क बाबु आचार्य, फिल्ड सुपरभाइजर धर्म यादव, कृषि प्राविधिक धन कुमारी चौधरी लगायतको सहभागिता रहेको थियो। अनुगमनका क्रममा राप्ती १ माछिताल र बगासोती तथा राप्ती २ बाउनीपाटामा परियोजना तथा राप्ती गाउँपालिकाको लागत साझेदारीमा सम्पन्न सौर्य ऊर्जामा आधारित सिंचाई तथा खानेपानी योजनाहरु सँगै परिजोजनाको जलवायु अनुकूलित गाउँ कार्यक्रम अन्तर्गत संचालित विभिन्न कार्यक्रमहरुको अवलोकन गरिएकाे थियाे।

यस्तै राप्ती ८ बिजौरी, राप्ती ६ भगवानपुर र राप्ती ७ अर्णहनपुरमा परियोजना मार्फत प्रवर्धन गरिएका विभिन्न जलवायु मैत्री कृषि प्रविधि, श्रम तथा लागत मैत्री कृषि प्रविधि तथा विभिन्न किसिमका आयआर्जनका कार्यक्रमहरुको समेत अवलोकन गरिएकाे छ। राप्ती गाउँपालिकामा सन् २०१७ देखि सुरु भएको चार बर्षे परियोजना सन् २०२० मा सम्पन्न गरी दोस्रो चरणको कार्यक्रम अन्तर्गत यसै गाउँपालिकामा कार्यक्षेत्र विस्तार गर्दै २०२१ देखि नयाँ ५ वर्षे परियोजना सञ्चालन गरिएको छ जसमा विशेष गरी कृषि, पशुपालन, अन्य आयआर्जनका कृयाकलाप, खानेपानी, सिचाई आदि जस्ता क्षेत्रमा गाँउपालिकासंग समन्वय गरी कार्यक्रम सञ्चालन भइरहेको छ । नामसालिङ सामुदायिक विकास केन्द्रको प्रमुख लक्ष्य एकीकृत समुदायिक विकासको माध्यमबाट ग्रामिण जनताको जिवनस्तर उकास्नु रहेको नाम्सालिङका दाङ स्थित कार्यक्रम संयोजक शशांक आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे