देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले गराए लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ ग्रहण



देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले गराए लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ ग्रहण

भालुवाङ १७ पुस । लुम्बिनी प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।

स्थायी राजधानी दाङको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा तयार भएको प्रदेशसभा भवनमा उनीहरुले शपथ ग्रहण गरेका हुन् । प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था अनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकका लागि प्रदेश सरकारको १० करोड बढी लागतमा देउखुरीमा बनेको प्रदेशसभा भवनको अधिकांश काम सकिएको छ ।

अहिले सजावटको काम भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘हामी अब अन्तिम तयारीको अवस्थामा छौं,’ उनले भने, ‘अघिल्लो प्रदेशसभाले तोकेको स्थायी राजधानीको प्रदेशसभा भवनमा शपथ ग्रहण भएको छ भने यही भवनमा पहिलो बैठक हुनेछ ।’

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ ।

माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे