पिपरीमा ३ दिने व्यवसाय सचेतना तालिम शुरु



पिपरीमा ३ दिने व्यवसाय सचेतना तालिम शुरु

सिसहनियाँ ७ पुस । राप्ती गाउँपालिका वडा नं.८ पिपरीमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ दिने व्यवसाय सचेतना तालिम बिहिवार देखि पिपरीमा शुरु भएको छ।

महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले साे तालिमको आयोजना गरिएको हो । राप्ती गाउँपालिकाकाे आयोजना तथा वडा नं. ८ काे समन्वयमा तालिम सञ्चालन भएको हाे। राप्ती गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ ।

तालिमको उद्घाटन गर्दै अध्यक्ष विष्टले सिप सिकेर खेर नजाने भन्दै हरेक व्यक्तिले केही न केही उद्यम गरेर आय आर्जन गर्नुपर्नेमा जाेड दिएका छन् । सानोबाटै ठुलो काम गर्न सकिने भन्दै हरेक व्यक्तिले उद्यमशील बन्ने मानसिकताका साथ अघि बढ्नुपर्ने भन्दै तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिएका छन् ।

त्यस्तै उपाध्यक्ष कमलापति चाैधरीले तालिमका सहभागीहरूलाई आफ्नो रुची र चाहना अनुसार उद्यममा अग्रसर हुन आग्रह गरेकी छिन् । तालिममा वडा नं.८ का २० जना महिलाहरूको सहभागिता रहेको छ । तालिमको सहजीकरण गाउँपालिकाका उद्यम विकास सहजकर्ता विनिता चौधरी र अमिता चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे