मुख्यमन्त्रीको कार्यालय स्थायी राजधानी देउखुरीमा सरेपछि बढ्यो चहलपहल



मुख्यमन्त्रीको कार्यालय स्थायी राजधानी देउखुरीमा सरेपछि बढ्यो चहलपहल

भालुवाङ २२ मंसिर । मुख्यमन्त्रीकाे सम्पूर्ण सामान स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आए संगै साेमबार बिहानै देखि  दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ३ साबिक राप्ती प्राविधिक शिक्षालयमा बेग्लै चहल पहल बढ्न थालेकाे छ।

यसअघि सयौं विद्यार्थी अध्ययन गर्दा भन्दा अब फरक खाले चहलपहल देखिन थालेको स्थानीय बताउँछन् । अब यहाँ सेना प्रहरीका गाडीहरू बाक्लै आउन थालेका छन्,’ एक स्थानीयले भने, ‘साइरन बजाउँदै झण्डा हालेका गाडीहरु आउँदा बेग्लै अनुभूत हुन थालेको छ ।’

 

स्थानीय सर्वसाधारणदेखि जिल्ला र जिल्ला बाहिरका राजनीतिक दलका नेताहरु त्यहाँ आउने क्रम बढ्न थालेको स्थानीय महेश अधिकारीले बताए ।  ‘गाडीको ओहोर दोहोर बाक्लो बन्दै गएको छ,’ उनले भने,

‘सुरक्षाकर्मीको ओहोर दोहोर उत्तिकै बढेको छ । जसले गर्दा आजभोलि यहाँको परिदृष्य रोमाञ्चक देखिन्छ ।’ दुई वर्ष दुई महिना पहिले प्रदेश सभाको बहुमत सदस्यले १८ बिगाहा क्षेत्रफलमा रहेको यो शिक्षालयलाई लुम्बिनी प्रदेशको मुकाम तोकेको थियो ।

झन्डै ३० वर्ष शिक्षालय निर्माण गरि प्राविधिक विषय पढाई हुँदै आएको थियो। शिक्षालय झन्डै १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थान्तरण गरि त्यहीँ शिक्षालय भित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ब्यवस्थापनको काम भइरहेको छ।

यहाँ साना ठूला २४ वटा भवन छन्। प्रदेश सभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हाल वाइरिङ, रङरोगनदेखि जिप्सन लगाउने काम धमाधम भइरहेको छ। दुई मन्त्रालय यहाँ पहिलै स्थान्तरण भइसकेका थिए। तर, काम भने बुटवलबाटै हुँदै आएको थियो।

सोमबार मध्यराति लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट सारिएएको थियो। अब अन्य मन्त्रालय पनि क्रमिक रुपमा आउने निश्चित भएको छ । निकट भविश्यमै प्रदेशसभाको पहिलो बैठक बस्ने, नयाँ मुख्यमन्त्री तथा मन्त्रीको सपथ पनि स्थायी राजधानीमै गराउने गरि काम धमाधम भइरहेको छ ।

मुख्यमन्त्री र मुख्य सचिवको कार्यालयका सामाग्री ब्यबस्थापनमा कर्मचारीदेखि सचिवायलयका मानिसहरु खटिएका छन्। कुर्सी टेवल, सोफा मिलाउनेदेखि मुख्य मन्त्रीको कार्यालय सजाउने, सचिवायल ब्यवस्थापनको काम भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे