काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै पूर्व माओवादी लडाकु



काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै पूर्व माओवादी लडाकु

दिपक वली, दाङ ३ मंसिर।

२०५६ सालमा जनयुद्धमा लागेका दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर (३ बस्तीखोलाका भीमबहादुर विक अर्जुनले १५ वर्षसम्म तत्कालिन नेकपा माओवादीमा सक्रिय भए । देशका विभिन्न स्थानमा भएका लडाईँका मोर्चामा सहभागी अहिले पुर्ख्यौली पेशा काठको ठेकी बनाएर दैनिकी चलाइरहेका छन् ।

परिवर्तनका लागि भनेर १० वर्षे सशस्त्र युद्धमा हिंडेका दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर–३ बस्तीखोलाका भीमबहादुर विक अर्जुनलाई पुरानै पेशामा फर्कनु पर्छ भन्ने लागेको थिएन । देशमा परिवर्तनका लागि हतियार समातेका अर्जुन अहिले पनि हतियार नै चलाउनुहुन्छ । तर अहिले उनले चलाउने हतियार र उद्देश्य फरक छ । उनी अहिले देशको परिवर्तनका लागि हैन पेट पाल्नका लागि हतियार चलाउँछन्। ५ छोरी र श्रीमती सहित ७ जनाको पालनपोषणका लागि उनले ठेकी बनाउने पुर्ख्यौली पेशा अँगालेका छन् ।

२०६३ सालमा शान्तिवार्ता भएपछि पार्टीकै निर्देशनमा वाइसीएल बनेर निस्किएका अर्जुनले २०७० सालको निर्वाचन सम्म पनि पार्टीकै निर्देशनमा काम गरे । तर उनलाई पार्टीको काम चित्त बुझेन । अनि २०७१ सालमा उनी यो पेशामा फर्किए । गिट्ठाको रुख खोज्नु, त्यसलाई ताछेर विभिन्न साइजका ठेकी बनाउने र त्यसलाई गाउँगाउँमा लगेर विक्री गर्नु अहिले अर्जुनको दैनिकी बनेको छ ।

नेताका चिल्ला भाषणको प्रभावमा परेर १६ वर्षे लक्का जवानीमा २०५६ सालमा युद्धमा लागेका अर्जुन अहिले आएर जवानी खेर फालेकोमा पछुतो मानेका छन् । अर्जुनले पुर्ख्यौली पेशाको संरक्षणका लागि भाइहरुलाई आग्रह गरे पनि मानेनन् । तर छोरी ओमकुमारीले भने बुवाको पेशामा सघाउँदै र रमाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे