भालुवाङ बजारको फोहोर व्यवस्थापनमा सरोकारवालाको चासो, तत्काल अस्थाई भएपनि फोहर व्यवस्थापन गरिने



भालुवाङ बजारको फोहोर व्यवस्थापनमा सरोकारवालाको चासो, तत्काल अस्थाई भएपनि फोहर व्यवस्थापन गरिने

राप्ती र रामजहदी सामुदायिक वनको उपयुक्त स्थान छनौट गरिने

ओमप्रकाश गुप्ता, भालुवाङ २१ कार्तिक ।

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बजार क्षेत्रको फोहर ब्यवस्थापन गर्न सरोकारवालाहरूले चासो देखाएका छन् । भालुवाङ बजारको फोहोर रामजहदी सामुदायिक वनमा व्यवस्थापन हुँदै आएकोमा पछिल्लो समय सामुदायिक वनले फोहोर डम्पिङ गर्न नदिएपछि भालुवाङ क्षेत्रका होटल व्यवसायी, व्यपारी र स्थानीयहरुले बजार क्षेत्रका फोहोर जथाभावी पसल अगाडी र राप्ती नदीमा फाल्ने क्रम नरोकिएपछि बजार क्षेत्र र राप्ती नदी दुर्घन्धित हुँदै जान थालेपछि सरोकारवालाहरुले फोहोर व्यवस्थापनका विषयमा चासो देखाएका हुन् ।

 

यसैबीच शुक्रवार राप्ती गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले फोहोर व्यवस्थावनका विषयमा सरोकारवालाहरु संग छलफल गरी तत्काल फोहर व्यवस्थापन गर्ने निर्णय गरेको छ । जसका लागि राप्ती गाउँपालिका वडा नम्बर १ मा वडा स्तरीय फोहोरमैला अस्थायी रुपमा व्यवस्थापन गर्न राप्ती सामुदायिक वन र रामजहदी सामुदायिक वनलाई वन वातावरणमा प्रतिकुल असर नपर्ने गरी कम्तीमा पाँच वर्षका लागि व्यवस्थीत रुपमा सञ्चालन गर्नका लागि आवश्यक पर्ने बजेट स्थानीय सरकार सँग माग गर्ने र सो को समन्वयका लागि विभिन्न टोल विकास संस्था र संघ संस्थालाई जिम्मा दिने निर्णय गरेको छ ।

जिम्मा पाउने जसअनुसार संघसंस्थाहरुमा सिद्देश्वर टोल विकास संस्था, स्वर्गद्धारी टोल विकास संस्था, आँपखोली टोल विकास संस्था, हनुमानगढी टोल विकास संस्था, विहानी टोल विकास संस्था, नयाँ बजार टोल विकास संस्था र आशाका किरण रहेका छन् ।

यसअघि लामो समय सम्म भालुवाङ बजार क्षेत्रको फोहोर व्यवस्थापनको समस्यालाई दीर्घकालीन रूपमा समाधान खोज्नका लागि पटक—पटक भेला, आमभेला पनि भए । तर समस्या ज्युँका त्युँ रहे । राप्ती गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि उपयुुक्त स्थान दिने वडा तथा सामुदायिक बनलाई गाउँपालिकाको वार्षिक बजेटबाट थप २५ लाख रकम सहित अन्य सेवा सुविधाका साथै त्यस वडा या सामुदायिक वनका उपभोक्ताहरु बसोबास रहेको क्षेत्रमा अन्य भौतिक बिकाशमा जोडदिने छुट्टै सुनौलो योजना पनि नल्याएको होइन ।

तर पनि समस्याको निकास आएन । प्रान्तीय राजधानीको आगमनसंगै भालुवाङ्ग क्षेत्रमा मानव जनघनत्व ह्वात्तै बढ्नसक्ने र तत् अनुपातमा फोहोर पनि बढ्ने भएकोले यथाशीघ्र सो तर्फ कदम चाल्नुपर्नेमा उपस्थित सबैले सुझाए । तत्कालीन रूपमा नजिकैको राप्ती नदी वा अन्यत्र कतै लगेर फाल्दैमा अब दीर्घकालीन समाधान नहुने भन्दै कार्यक्रममा उपस्थित सहभागीहरु यस तर्फ गम्भीर बनेका हुन् ।

वडाध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनीधि, उद्योग वाणिज्य संघका प्रमुख, सुरक्षा निकाय, पत्रकार, संघ संस्थाका प्रमुख, समाजसेवी तथा बुद्धिजीवि, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे