तुलसीपुरको एक होटलमा बन्धक बनाइएका युवकको उद्धार, ६ जना पक्राउ



तुलसीपुरको एक होटलमा बन्धक बनाइएका युवकको उद्धार, ६ जना पक्राउ

दाङ १० साउन । दाङको तुलसीपुरमा एक होटलमा बन्धक बनाइएका एक युवकलाई प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालको नेतृत्वमा गएको १५ जनाको प्रहरी टोलीले दैलेखको चामुण्डा बिन्द्रासैनी नपा-३ बस्ने वर्ष २७ को केशवकुमार विकलाई तुलसीपुरस्थित सल्यान रोडमा रहेको युवम होटेलमा उद्धार गरेको हो।

दाङका युवाहरूले बुटवलमा बोलाएर एक महिलासँग होटलमा भेट गराएलगत्तै विकलाई अपहरण गरेर तुलसीपुर ल्याई पुर्‍याएका थिए। ७ लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएर युवकलाई होटेलमा बन्धक बनाएर राखेको खबर पाएलगत्तै प्रहरीले दिउँसो साढे ४ बजे होटलमा छापा मारेको थियो। तुलसीपुर प्रहरीलाई दैलेखबाट पीडितकी श्रीमतीले खबर गरेको प्रहरीले बताएको छ ।

फोन गरेर बोलाउने युवती सहित ६ जना पक्राउ

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बबई गापा-४ का ३५ वर्षका लीला विक, सोही ठाउँ निवासी ३५ वर्षका नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगर-४ खाँद्नेका २५ वर्षका सुकलाल विक, कपिलवस्तुको शिवराज नपा-९ का २० वर्षका २० का मनोज थारू, बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडीका चालक प्यूठानको गौमुखी गापा-७ घर भई हाल तुलसीपुर-६ बस्ने २४ वर्षका जनक कुँवर र तुलसीपुर उपमहानगर-७ निवासी २६ वर्षकी निर्मला विक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

निर्मलाले काठमाडौँबाट दैलेखका लागि बसमा चढेका केशवलाई सम्पर्क गरेर बुटवलमा ओरालेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए। पीडित केशवसँग सुकलाल र मनोजको रोजगारीका क्रममा साउदीमा चिनजान भएको थियो। केशवलाई बुटवलबाट मंगलबार बिहान २ बजे युवम होटलमा ल्याई पुर्‍याएका थिए। पक्राउ परेका सबैलाई प्रहरीले अपहरण तथा शरीर बन्धक शीर्षक मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे