प्रदेश-१ को नामकरणमा अन्योल कायमै, दलहरु आ-आफ्नै अडानमा



प्रदेश-१ को नामकरणमा अन्योल कायमै, दलहरु आ-आफ्नै अडानमा

काठमाण्डाै ९ साउन । दलहरुबीच सहमति हुन नसक्दा प्रदेश-१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आआफ्नो अडानबाट पछि नहट्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना कम देखिएको छ । दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा विभिन्न जातजाति, संस्कृति, सभ्यता र भूगोलका नाममा नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन बढ्न थालेका छन् ।

७ मध्ये ६ प्रदेशले आफ्नो नामकरण गरिसकेका छन् । प्रदेश-१ को मात्र नामकरण हुन बाँकी छ । यसअघि २०७५ साल वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर टुङ्गो लागे पनि नामकरण भने हुन सकेको थिएन । प्रदेशको नाम टुङ्ग्याउन भन्दै गएको शुक्रवार प्रदेश-१ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको थियो । तर, दलहरु आआफ्नै अडानमा रहेपछि सहमति हुन सकेन ।

प्रदेश-१ मा कोशी, किराँत, कोशी–किराँत, सगरमाथा, किराँत/लिम्बुवान, शेर्पालुङ/मधेस, विराट, विजयपुर, सप्तकोशी र लिम्बुवान/खम्बुवान लगायतका नाम चर्चामा छन् । एकीकृत समाजवादीले किराँत प्रदेशको प्रस्ताव गरेको छ । माओेवादी केन्द्र पनि एकल पहिचानको पक्षमा छ । नेपाली कांग्रेसले सप्तकोशी र नेकपा एमाले कोशी नाम प्रस्ताव गरेको छ ।

प्रदेशको नामकरणका लागि दुई तिहाइ बहुमत अर्थात ६२ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश-१ मा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र राप्रपा तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ गरी ९३ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे