LISTEN LIVE RADIO

दाङमा तीन महिनाको अवधिमा करिब दुई लाख बिरुवा रोपियो



दाङमा तीन महिनाको अवधिमा करिब दुई लाख बिरुवा रोपियो

दाङ २७ असार । दाङमा तीन महिनाको अवधिमा करिब दुई लाख बिरुवा रोपिएको छ । यो वर्षको वर्षा सुरु भएसँगै जिल्लाका करिब २ सय हेक्टर खाली जमिनमा २ लाख बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

संरक्षणमुखी बृक्षरोपण कार्यक्रम शुरु गरेर करिब २ लाख बिरुवा रोपिएको उनको भनाई छ। वर्षेनी बिरुवा लगाइने तर हर्काउन चुनौति बढ्दै गएपछि यस वर्षबाट संरक्षणमुख बृक्षरोपण कार्यक्रम थालिएको श्रेष्ठले बताए ।

संरक्षणमुखी कार्यक्रम अनुसार अतिक्रमित वन क्षेत्र खाली गरेर यस पटक बिरुवा रोपिएको हो। उनका अनुसार घोराहीको मघै, रामपुरको चरिङ्गेदह, तलसीपुरको कटकुइँया, भ्यूडर, सुनपुर र बबई गाउँपालिकामा गरी ९ हेक्टर वनमा ताराबारसहितको बृक्षरोपण गरिएको छ।

यस्तै तुलसीपुरको मोतीपुर, दंगीशरणको सिमठाना र महालक्ष्मी, घोराही १० नारायणपुरको सरजुगंगा र बबइ नदी, अम्विकेश्वरीको क्वाडी र शान्ति सामुदायिक वन क्षेत्रको करिब २० हेक्टर नदीले कटान गरेको क्षेत्रलाई तारबार गरी बृक्षरोण गरिएको छ।

डिभिजन वन कार्यालयले एक पालिका एक कृषि अबको अवधारणा अनुसार स्थानीय किसानहरुलाई सहभागी गराई दाङको घोराही र तलसीपुर उपमहानगरपालिका, बंगलाचुली, शान्तिनगर र दंगीशरण गाउँपालिका गरी ५ वटा पालिकाका १० हेक्टरका दरले ५० हेक्टरमा कृषि वन बनाउने काम गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे