LISTEN LIVE RADIO

दाङलाई पूर्ण खोप सुनिश्चित घोषणाको तयारी



दाङलाई पूर्ण खोप सुनिश्चित घोषणाको तयारी

दाङ २७ असार । दाङका १० वटै पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । हिजो बबई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेसँगै जिल्लाका सबै पालिका पूर्ण खोप सुनिश्चित भएका हुन् ।

जिल्लाका सबै पालिकाहरुले आफ्ना लक्षित सबै बालबालिकाहरुलाई पूर्ण खोप लगाइसकेको तथ्यगत विवरण प्रस्तुत गरेसँगै जिल्ला खोप समन्वय समितिले ती पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका अभियन्ताका रुपमा प्रमाणपत्र दिएको छ ।

बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

असारको ३ गते राप्ती गाउँपालिकालाई जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेसँगै शुरु भएको पालिका स्तरीय पूर्ण खोप सुनिश्चित घोषणा अभियान अन्तर्गत हिजो आईतबार अन्तिम पालिकाका रुपमा बबई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

ती पालिकाहरुलाई जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले पूर्णखोप पालिकाको प्रमाणपत्र दिनुभएको छ । पालिकाहरुमा जन्मेदेखि १५ महिनासम्म लगाउने खोप सबैले लगाइसकेको प्रमाणिकरणसमेत भैसकेको छ ।

पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न केही ढिलाई भएकाले अब साउनको १० गतेभित्रमा दाङ जिल्लालाई नै पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने तयारी भएको छ । दाङ जिल्ला पूर्ण खोप सुनिश्चित भएको सिफारिस गरिएपछि लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जिल्ला खोप समन्वय समितिलाई प्रमाण पत्र प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे