LISTEN LIVE RADIO

बड्हरा–खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङगे पुल बन्दै



बड्हरा–खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङगे पुल बन्दै

महेश रिजाल, भालुवाङ १७ कार्तिक ।

लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका वडा १ बडहरा र राप्ती गाउँपालिका ३ खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङगे पुल निर्माण कार्य सुरु भएको छ । सो पुलको लम्बाई ८ सय १८ मिटर र चौडाई एक दशमलव २० मिटर हुने छ । पुलमा जम्मा ११ वटा पिलर रहने छन् जस्मा फुटपाथका लागि ५ वटा पिलर, पंखाका (साइड विङ) का लागि ४ वटा पिलर र मेइन ब्लकका लागि २ वटा पिलर गरि जम्मा ११ वटा पिलर रहने छन् ।

प्रत्येक पिलरको गोलाई ७ सय ५० सेन्टिमिटर रहने छ । भने प्रत्येक पिलरको गहिराई पानी मुनि १६ मिटर गरिने छ । पानी माथी फुटपाथ सम्मको पिलरको उचाई १२ मिटर र फुटपाथ देखि माथी ३५ मिटर उचाइको ५ वटा टावर रहने छन् । पहिलो पिलर देखि दोस्रो पिलर सम्मको दुरी ३ सय ८१ मिटर र तेस्रो र चौथो पिलरको दुरी ९०÷९० मिटरको दुरीमा रहने छन् । त्यसै गरि अन्य पिलरका दुरी ९९÷९९ मिटर दुरीमा रहने छन् ।

सो पुल नेपालको तेश्रो लामो झोलुङगे पुलका रुपमा चिनिने भएको छ । नेपालमा पहिलो लामो झोलुङगे पुल महाकाली नदिमा बनेको दोधारा चाँदनी हो जस्को लम्बाई १ हजार ४ सय ४० मिटर रहेको छ । भने नेपालको दोस्रो लामो झोलुङगे पुल इलाम जिल्लाको माइ खोलामा निर्माण भइरहेको छ जस्को लम्बाई ८ सय २० मिटर रहेको छ । उक्त दुबै पुलको निर्माणको जिम्मा थानी निर्माण सेवा काठमाडौले पाएको छ । राप्ती नदीमा निमार्ण कार्य सुरु भएको उक्त झोलुङगे पुलको कुल लागत ८ करोड २७ लाख रहेको उक्त निर्माण सेवाका साइड इन्चार्ज विक्रम बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार २ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएता पनि डेढ बर्षमै निर्माण सम्पन्न गरिने गरि निर्माण कार्य भइरहेको उनले बताए । उक्त बडहरा–खुरुरीया जोड्ने राप्ती नदीमा झोलुङगे पुल निर्माण भएपछि राप्ती नदी दक्षिणका गढवा गाउँपालिका १ बडहरा, बनघुस्री, बनबारी, चिमचिमे, पत्रिङगा, जेठानगाउँ, पचाहा र राप्ती नदी उत्तरका राप्ती गाउँपालिका ३ खुरुरीया, बसन्तापुर बागढड्डी, वडा नम्बर २ का कटाहा, लालमटिया, बराखुट्टी लगायतका हजारौ स्थानीय गाउँले किसानहरुलाई प्रत्यक्ष सुविधा पुग्नुका साथै लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको देउखरी उपत्यका अवलोकन गर्न आउने हजारौ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई टेवा पुग्ने छ ।

उक्त पुल निर्माण कार्य सुरु भएपछि आफुलाई धेरै खुसी लागेको बडहरा निवासी तथा तत्कालिन संविधान सभाका सभासद रश्मीराज नेपालीले बताए । त्यस्तै २००७ साल देखि आफ्ना बाउबाजेको पाला देखि हाल सम्म डुङगा र पौडी खेलेर नदीपार गरेका दुर दिन अब हट्छन कि भन्ने आसा पलाएको खुरुरीया निवासी बरिष्ठ समाजसेवी एंवम् राष्ट्रिय जनमोर्चाका बरिष्ठ नेता लालमणि शर्माले अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे